अमेरिकाको पासपोर्टमा लैंगिक तटस्थताका लागि आवेदन फर्ममा परिमार्जन गर्न ३० दिने सुचना


प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार

अमेरिकन पासपोर्टमा आफूलाई महिला वा पुरुषका रुपमा चिनाउन नचाहनेहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो आफ्नो लिंग चिनाउने संकेत प्रयोग गर्न सक्नेगरी अमेरिकी विदेश मन्त्रालयले पासपोर्ट फर्ममा परिवर्तन गर्न लागेको छ । त्यसका लागि कमेन्टको आव्हान गर्दै ३० दिने सुचना फेडरल रजिष्टरमा जारी गरिएको छ ।

आवेदकहरूलाई मेडिकल कागजातहरू पेश नगरी लिङ्ग मार्कर चयन गर्न अनुमति दिने नीति कार्यान्वयनका लागि विदेश मन्त्रालयले पासपोर्ट सम्बन्धित फर्महरु अमेरिकी पासपोर्ट आवेदन डीएस ११, नविकरण आवेदन डीएस ८२ र संसोधन आवेदन डीएस ५५०४ मा पासपोर्टमा परिमार्जन गर्न लागेको हो । तेश्रो लिंगी चिन्ह ‘एक्स’ प्रयोग गर्न सकिने लगायतका परिमार्जन सहितको नीति परिवर्तनका लागि कमेन्ट अवधि मार्च २८ सम्म रहेको छ ।

अमेरिकन पासपोर्टमा आफूलाई महिला वा पुरुषका रुपमा चिनाउन नचाहनेहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो आफ्नो लिंग चिनाउने संकेत प्रयोग गर्न सक्ने नीतिको घोषणा बाइडेन प्रशासनले गतबर्ष नै गरेको थियो । लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह थप्नका लागि काम सुरुवात गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले बताएका थिए ।

सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका अमेरिकन नागरिक व्यक्तिका लागि उचित व्यवहार सुनिश्चित गर्नका लागि थप कदम चालिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह प्रदान गर्ने लक्ष्यसहित अमेरिकी पासपोर्ट र विदेशमा जन्मने अमेरिकी नागरिकलाई जारी गरिने कन्सुलर रिपोर्टमा अपडेटको प्रकृया सुरु भइसकेको छ ।

पासपोर्ट र कन्सुलर रिपोर्टमा लैंगिक चिन्हहरु थप्ने प्रकृया जटिल भएको र आईटी प्रणालीमा बृहत अपडेटका लागि केही समय लाग्ने भएकाले कार्यान्वयनमा आउन अझै केही महिना लाग्ने देखिएको छ । पासपोर्ट र कन्सुलर रिपोर्टमा लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह कहिलेदेखि प्रदान गर्नेभन्नेबारे मिति अहिलेनै प्रदान गरिएको छैन ।

अहिले नै लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुले फरक संकेत चिन्हसहित पासपोर्टका लागि आवेदन दिनभने सक्नेछैनन् । त्यसका लागि केही समक्ष प्रतिक्षा गर्नुपर्नेछ ।

यदि परिचयपत्रहरु वा अमेरिकी नागरिकताको प्रमाणपत्रमा भएको लिंगभन्दा फरक लिंग उल्लेख गरेर अमेरिकी पासपोर्ट प्राप्त गर्न चाहेको खण्डमा पनि मेडिकल प्रमाणपत्र आवश्यक नपर्ने व्यवस्था गरिने भएको छ । उनीहरुले पासपोर्ट आवेदन दिंदा आफूले चाहेको लिंग विना कुनै झन्झट छनौट गर्न सक्ने भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com