फेरि बढ्यो परिवारमा आधारित ग्रिनकार्ड पाउन लाग्ने अवधि, डिसेम्बरदेखि नै एकएक महिना बढ्दै
प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार
अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिल महिनाको भिसा बुलेटिन जारी गरेको छ । मार्चको भिसा बुलेटिनको तुलनामा अप्रिलमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र ग्रिनकार्ड फाइल गर्ने मितिमा टसमस भएको छैन । डिसेम्बरदेखि नै यो मिति जस्ताको तस्तै रहँदा परिवारमा आधारित हरेक श्रेणीका ग्रिनकार्डका लागि लाग्ने अवधि बढेको बढ्यै छ ।
परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय र अमेरिकामा नै हुनेहरुले फाइल गर्नका लागि लाग्ने समय मार्चको तुलनामा अप्रिलमा अझ एकमहिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने र फाइल गर्ने मितिमा कुनै फेरवदल नभएको हो ।
ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।
अप्रिलको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ७ बर्ष ४ महिना पुगेको छ । डिसेम्बरमा यो अवधि ७ बर्ष पुगेको थियो । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि पनि ६ बर्ष ७ महिना पुगेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १३ बर्ष ५ महिना पुगेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १५ बर्ष १ महिना पुगेको छ ।