लस एन्जलसमा ३ बर्षका लागि मासिक १ हजार डलर दिने कार्यक्रममा मार्च ३१ बाट आवेदन


प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार

अमेरिकाको लस एन्जलसमा ३ बर्षका लागि मासिक १ हजार डलर दिने कार्यक्रम सुरु गरिने भएको छ । लस एन्जलस काउन्टीका एकहजारजनालाई यो कार्यक्रममा सहभागी गराइने भएको छ ।

मार्च ३१ देखि अप्रिल २२ सम्मको अवधिमा आवेदन दिन सकिनेछ भने आवेदन दिनका लागि झण्डै १ घण्टाको समय लाग्नेछ । लस एन्जलस काउन्टीको सुनिश्चित आम्दानी कार्यक्रमले उक्त काउन्टीका १ हजारजनालाई तीनबर्षका लागि जीवनयापन सहज बनाउनेछ ।

कार्यक्रमबारे थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

युनिभर्सिटी अफ पेन्सिलभेनियाले यो रिसर्च कार्यक्रम गर्ने भएको हो । स्वास्थ्य र आर्थिक समृद्धिका क्षेत्रमा सुनिश्चित आम्दानीको प्रभाव मापन गर्नका लागि यो रिसर्च कार्यक्रम ल्याइएको हो ।

स्ट्रेन्थ बेस्ड कम्युनिटी चेन्ज नामको गैर नाफामुलक संस्थाले आवेदकहरुलाई सम्पर्क गर्नेछ । त्यसपछि उनीहरुलाई कार्यक्रममा छनौट भए नभएकोबारे जानकारी दिइनेछ ।

कोरोना महामारीका कारण गरिवीको सामना गरिरहेका लस एन्जलस काउन्टीभित्रका बासिन्दाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् । १८ बर्ष उमेर पुगेको, महामारीबाट आम्दानीमा नकारात्मक असर परेको, अर्को सुनिश्चित आम्दानी कार्यक्रममा सहभागी नभएको व्यक्ति यो कार्यक्रमका लागि योग्य हुनेछ ।

त्यस्तै एउटा परिवारबाट एकजनामात्र सहभागी हुन पाइनेछ । औषत आम्दानीको १ सय प्रतिशतभन्दा कमभित्र पर्ने लस एन्जलस काउन्टी क्षेत्रमा बसोबास गर्ने कार्यक्रमका लागि योग्य हुनेछन् । आवेदन अनलाइन उपलब्ध हुनेछ भने इन्टरनेटको सेवा नहुनेहरुलाई कम्प्युटर प्रयोग गर्नका लागि स्थान उपलब्ध गराइनेछ ।

कागजपत्रविहिनहरु यो कार्यक्रमका लागि योग्य हुने वा नहुने भन्नेबारे केही बताइएको छैन । प्राप्त आवेदनबाट १ हजार जनालाई लोटरी प्रणालीबाट छनौट गरिनेछ । सुनिश्चत आम्दानीबाट शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका क्षेत्रमा परेको प्रभाव मापन गरिनेछ । सहभागीहरुलाई अन्तरवार्तामा समेत सामेल गराइनेछ, जस वापत हरेक अन्तरवार्ताको थप ४० डलर दिइनेछ ।

कार्यक्रमका लागि छनौट नभएका थप १२ सय जनालाई अर्को सर्भेमा सहभागी गराइनेछ । जसवापत उनीहरुले ३० डलर प्राप्त गर्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com