अमेरिकाको पासपोर्टमा अप्रिल ११ पछि लैंगिक तटस्थताको व्यवस्था
प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार
अप्रिल ११ देखि लागु हुनेगरी अमेरिकन पासपोर्ट आवेदकहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो आफ्नो लिंग चिनाउने एक्स संकेत प्रयोग गर्न सक्ने भएका छन् । ट्रान्सजेन्डर, इन्टरसेक्स, नन बाइनरी र लिङ्ग पहिचान नभएका व्यक्तिका लागि संघीय कागजातहरु समावेशी बनाउनका लागि यो कदम चालिएको हो ।
अमेरिकी सरकारले पासपोर्टमा अप्रिल ११ देखि लागु हुनेगरी लिंग चिनाउने संकेत प्रयोग। गर्न सकिने व्यवस्था गरेपनि सन् २०२३ देखि भने पासपोर्ट कार्ड र विदेशमा जन्मेकाहरुका रिपोर्टमा समेत यस्तो विकल्प प्रदान गर्ने भएको छ । अमेरिकन पासपोर्टमा आफूलाई महिला वा पुरुषका रुपमा चिनाउन नचाहनेहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो आफ्नो लिंग चिनाउने संकेत प्रयोग गर्न सक्नेछन् ।
आवेदकहरूलाई मेडिकल कागजातहरू पेश नगरी लिङ्ग मार्कर चयन गर्न अनुमति दिने नीति कार्यान्वयनका लागि विदेश मन्त्रालयले पासपोर्ट सम्बन्धित फर्महरु अमेरिकी पासपोर्ट आवेदन डीएस ११, नविकरण आवेदन डीएस ८२ र संसोधन आवेदन डीएस ५५०४ मा पासपोर्टमा परिमार्जन गरेको हो । तेश्रो लिंगी चिन्ह एक्स प्रयोग गर्न सकिने लगायतका परिमार्जन सहितको नीति परिवर्तनका लागि कमेन्ट अवधि मार्च २८ सम्म तय गरिएको थियो ।
अमेरिकन पासपोर्टमा आफूलाई महिला वा पुरुषका रुपमा चिनाउन नचाहनेहरुले लिंगको स्थानमा महिला र पुरुषको साटो आफ्नो लिंग चिनाउने संकेत प्रयोग गर्न सक्ने नीतिको घोषणा बाइडेन प्रशासनले गतबर्ष नै गरेको थियो । लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह थप्नका लागि काम सुरुवात गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले बताएका थिए ।
सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका अमेरिकन नागरिक व्यक्तिका लागि उचित व्यवहार सुनिश्चित गर्नका लागि थप कदम चालिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुका लागि संकेत चिन्ह प्रदान गर्ने लक्ष्यसहित अमेरिकी पासपोर्ट र विदेशमा जन्मने अमेरिकी नागरिकलाई जारी गरिने कन्सुलर रिपोर्टमा अपडेटको प्रकृया सुरु भइसकेको छ ।
कन्सुलर रिपोर्टमा लैंगिक चिन्हहरु थप्ने प्रकृया जटिल भएको र आईटी प्रणालीमा बृहत अपडेटका लागि केही समय लाग्ने भएकाले कार्यान्वयनमा आउन अझै केही महिना लाग्ने देखिएको छ । तर अप्रिल ११ पछि लिंगको पहिचान नभएका व्यक्ति, अन्तरलिंगी वा नन बाइनरीहरुले फरक संकेत चिन्हसहित पासपोर्टका लागि आवेदन दिन सक्नेछन् ।
यदि परिचयपत्रहरु वा अमेरिकी नागरिकताको प्रमाणपत्रमा भएको लिंगभन्दा फरक लिंग उल्लेख गरेर अमेरिकी पासपोर्ट प्राप्त गर्न चाहेको खण्डमा पनि मेडिकल प्रमाणपत्र आवश्यक नपर्ने व्यवस्था गरिने भएको छ । उनीहरुले पासपोर्ट आवेदन दिंदा आफूले चाहेको लिंग विना कुनै झन्झट छनौट गर्न सक्ने भएका छन् ।