अमेरिकामा आफ्नै वीर्य प्रयोग गरेर गर्भधारण गराउने डाक्टरलाई ५ मिलियन डलर जरिवाना


प्रकाशित मिति : चैत्र १८, २०७८ शुक्रबार

अमेरिकामा आफ्नै शुक्रकिट प्रयोग गरेर  गर्भधारण गराउने डाक्टरलाई अदालतले ५ दशमलव २५ मिलियन डलर क्षतिपूर्ति तिराएको छ । भर्मोन्टको संघीय अदालतले महिलालाई उक्त रकम दिलाउने फैसला गरेको हो ।

डाक्टरको लाइसेन्स पनि खारेज गरिएको छ । कृत्रिम गर्भाधान प्रकृयामा आफ्नै शुक्रकिट प्रयोग गरेका भर्मोन्टका डाक्टर जोन कोट्स तृतीयको लाइसेन्स स्थायीरुपमा नै खारेज गरिएको थियो ।

कोट्सले सन् १९७० को दशकमा भर्मोन्टमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रुपमा अभ्यास गरेका थिए । उनले थाहै नदिई आफ्नो शुक्रकिट दिएका दुईजना महिलाले मुद्दा हालेपछि यो रहस्य खुलेको हो ।

सन् १९७७ मा गरिएको कृत्रिम गर्भाधानका क्रममा आफ्नी छोरीका पिता ती डाक्टर रहेको दावी गर्दै फ्लोरिडाको एउटा जोडीले मुद्दा हालेको थियो । यो मुद्दामा अदालतले जरिवानाको सजाय सुनाएको हो । त्यस्तै सन् १९७८ मा कृत्रिम गर्भाधानका क्रममा आफनै शुक्रकिट दिएको दावी गर्दै क्लोराडोकी एकजना महिलाले पनि मुद्दा दायर गरेकी थिइन् ।

अज्ञात मेडिकल विद्यार्थीबाट दान गरिएको वीर्यबाट गर्भाधान गराउने कागजातमा हस्ताक्षर गरेपनि डाक्टरले आफ्नै वीर्य दिएको दावी फ्लोरिडाको जोडीले गरेको थियो । कोलोराडोकी महिलाले पनि आफूलाई अज्ञात मेडिकल विद्यार्थीबाट दान गरिएको वीर्यबाट गर्भाधान गराएको कागजातमा हस्ताक्षर गराएपनि डाक्टरले आफ्नै वीर्य प्रयोग गरेको दावी गरेकी थिइन् ।

त्यसपछि अनुसन्धान समितिले डाक्टरको आनुवंशिक परीक्षण गर्नुपर्ने उल्लेख गरेको थियो । तर डाक्टरले भने अस्वीकार गरेका थिए । पछि डाक्टरले फरक प्रकारको आनुवंशिक परीक्षणका क्रममा यसको पुष्टी भएको थियो । डाक्टरले अहिले आफ्नो गल्तीप्रति पछुतो मानेको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com