मे १ देखि अमेरिकामा काम गर्न कोरोनाकालिन म्याद सकिएका कागजातले काम नगर्ने
प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार
मे १ देखि अमेरिकामा काम गर्न कोरोनाकालिन म्याद सकिएका कागजातले काम नगर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । कोरोनाको महामारीका कारण अमेरिकामा रोजगारीका क्रममा परिचयपत्रका रुपमा काम गर्ने बी सुचीमा रहेका कागजातहरु म्याद सकिएको भएतापनि स्वीकार गरिदै आएको थियो ।
तर अब मे १ देखि लागु हुनेगरी रोजगारदाताले म्याद सकिएका बी सुचीमा रहेका कागजातहरु स्वीकार गर्न नसक्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रष्ट पारेको छ । कोरोना महामारीमा कारण कागजातहरु नविकरण गर्न असहज भएकाले म्याद सकिएका कागजात पनि स्वीकार गरिएको थियो ।
रोजगारदाताले सन् २०२० को मे १ देखि सन् २०२२ को अप्रिल ३० सम्म भने म्याद सकिएका त्यस्ता कागजातहरु पनि स्वीकार गर्न सक्नेछन् । तर मे १ पछि भने म्याद सकिएका कागजात स्वीकार गर्न नहुने जनाइएको छ । सन् २०२० को मे १ देखि सन् २०२२ को अप्रिल ३० सम्म म्याद सकिएका कागजात स्वीकार गरेका रोजगारदाताले जुलाई ३१ भित्र म्याद भएका कागजातसहित आई ९ फर्म अपडेट गर्नुपर्छ ।
फर्मको अतिरिक्त जानकारी खण्डमा रोजगारदाताले शीर्षक, परिचयपत्र जारी गर्ने निकाय, नम्बर र म्याद उल्लेख गर्नुपर्छ । यदि विगतमा म्याद सकिएका कागजातसहित काममा लगाइएका तर अहिले काममा नरहेकाहरुका सन्दर्भमा भने रोजगारदाताले कुनै कदम चाल्नु नपर्ने जनाइएको छ । त्यस्तै स्वत म्याद थपिएका कागजातको सन्दर्भमा पनि कुनै कदम चाल्नु नपर्ने भएको छ ।
बी सुचीमा पर्ने कागजातमा संघीय, राज्य वा स्थानीय सरकारबाट जारी परिचयपत्र, ड्राइभर लाइसेन्स, स्टेट आईडी, फोटोसहितको स्कुल आईडी, भोटर रजिष्ट्रेशन कार्ड, अमेरिकी सैन्य कार्ड, सेनामा हुनेका आश्रितको कार्ड, क्यानडाको सरकारबाट जारी ड्राइभर लाइसेन्स लगायत पर्छन् । यो श्रेणीका कागजातहरु परिचय सुनिश्चित गर्ने प्रयोजनका लागिमात्र पेश गरिन्छ ।