अमेरिकामा एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्ने नीति लम्बाउन अदालतको आदेश


प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार

अमेरिकाको संघीय अदालतका न्यायाधिसले एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने कोरोनाकालिन नीति जारी राख्न आदेश दिएका छन् ।
बाइडेन प्रशासनले आप्रवासीहरूलाई एसाइलम खोज्ने अवसर बिना नै निष्कासन गर्न अनुमति दिने महामारी सम्बन्धी नियमलाई हटाउने योजना बनाएकोमा अदालतले नहटाउनका लागि आदेश दिएको हो ।

टाइटल ४२ नामको यो नीति ट्रम्प प्रशासनले सन् २०२० को मार्चमा ल्याएको हो । यो नीति मे २३ मा अन्त्य गर्ने योजनामा बाइडेन प्रशासन रहेको छ । तर २२ वटा राज्यले कोरोनाकालिन उक्त नियमलाई कायमै राख्न अदालतमा मुद्दा दायर गरेका थिए ।

लुजियाना, एरिजोना र मिजौरीले कोरोनाकालिन नियम कायम राख्न माग गर्दै लुजियानाको अदालतमा मुद्दा दायर गरेका थिए । ती राज्यहरुलाई अरु १८ वटा राज्यहरुले साथ दिएका थिए । टेक्सासले कोरोनाकालिन प्रतिबन्धहरु कायम राख्न माग गर्दै छुट्टै मुद्दा दायर गरेको छ ।

अमेरिकामा शरण खोज्न पाउने नियम अन्तरगत अधिकारीहरुले पछिल्ला साताहरुमा ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोर लगायतका देशबाट आउने एकल बयस्कहरुलाई एसाइलमको प्रकृयामा लगेका छन् ।

गतसातामात्र ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोरबाट सिमाक्षेत्रमा आएका १४ प्रतिशतलाई एसाइलमको प्रकृयामा लगिएको छ । मार्चमा यो दर जम्मा ५ प्रतिशतमात्र रहेको थियो । खासगरी कोरोनाकालिन नियम ती देशहरुप्रति लक्ष्यीत रहेको थियो । किनभने मेक्सिकोले उनीहरुलाई फिर्ता लिन सहमति जनाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com