एसाइलमबाट वर्क परमिटका ट्रम्पकालिन नीति खारेजपछि युएससीआईएसबाट १४ मार्गदर्शन जारी
प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार
अमेरिकाका संघीय न्यायाधिसले एसाइलमवाहकलाई वर्क परमिट सम्बन्धित ट्रम्पकालिन दुईवटा नीतिहरु खारेज गरेपछि एसाइलम आवेदकलाई सहजिकरणका लागि युएससीआइएसले १४ मार्गदर्शन जारी गरेको छ । युएससीआईएसले विहिबार एक सुचना जारी गर्दै एसाइलमबाट वर्क परमिटबारे थप जानकारीहरु प्रदान गरेको हो ।
वर्क परमिटका लागि आवेदन दिन एसाइलम वाहकले ३६५ दिन कुर्नुपर्ने, एकबर्षको डेडलाइनभित्र एसाइलम फाइल गर्नेलाई वर्क परमिट नदिने, पोर्ट अफ इन्ट्रीमा इन्सपेक्सन विना अमेरिका आउनेलाई वर्क परमिटका लागि अयोग्य बनाउने लगायतका नियम युएससीआईएसले लागु गर्न छाडेको छ । त्यस्तै एसाइलम आवेदकले वर्क परमिटका लागि आवेदन दिएपछि ३० दिनभित्र त्यसबारे निर्णय गर्नुपर्ने युएससीआईएसको डेडलाइन ट्रम्प प्रशासनले खारेज गरेकोमा यसको खारेजी पनि कार्यान्वयन गर्न छाडिएको छ ।
बिहिबार जारी सुचना अनुशार एसाइलम आवेदकलाई एसाइलम आवेदन आई ५८९ र वर्क परमिट आई ७६५ का वर्तमान फर्महरु प्रयोग गर्न सुझाव दिइएको छ । त्यस्तै कासा डे मेरिल्याण्ड कासा वा एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट एएसएपीको सदस्यताको प्रमाण बुझाउने कामलाई आवेदकले निरन्तरता दिनसक्ने पनि जनाइएको छ । एसाइलम आवेदन र वर्क परमिट आवेदन दिंदा त्यस्तो प्रमाण पेश गर्न सकिनेछ ।
सन् २०२० मा को सेप्टेम्बर मा नै मेरिल्याण्डको ड्रिस्ट्रिक्ट कोर्टले कासा डे मेरिल्याण्ड कासा वा एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट एएसएपीको सदस्यता लिएकाहरुका सन्दर्भमा एसाइलम आवेदन पेन्डिंग रहेको १५० दिनपछि नै वर्क परमिटका लागि आवेदन दिनसक्ने र ३६५ दिन कुर्न नपर्ने फैसला गरेको थियो । यी दुई संस्थाको सदस्यता लिएकाहरुले बायोमेट्रिक लगायतका अन्य सन्दर्भमा समेत कैयन छुटहरुको व्यवस्था गरिएको थियो ।
त्यस्तै आवेदकले एसाइलम फाइल गरेको मितिले ३६५ दिन प्रतिक्षा नगरी १५० दिनमा नै वर्क परमिटका लागि आवेदन दिन सक्नेछन् । एसाइलम आवेदन दिएको १८० दिनपछिमात्र वर्क परमिट प्राप्त गर्न सकिने भएतापनि १५० दिन नाघेपछि आवेदन दिनसकिने युएससीआईएसले स्पष्ट पारेको छ ।
त्यस्तै एसाइरलम आवेदकले वर्क परमिट आवेदन आई ७६५ सँग सम्बन्धित बायोमेट्रिक शुल्क पनि बुझाउनु नपर्ने युएससीआईएसले प्रष्ट पारेको छ । एसाइलमका आधारमा सुरुमा वर्क परमिट फाइल गर्ने वा नविकरणका लागि आवेदन दिनेहरुले ८५ डलर शुल्क नपठाउन सुझाव दिइएको छ । यदि शुल्क पठाएको खण्डमा आवेदन अस्वीकृत हुने युएससीआईएसले चेतावनी दिएको छ । एसाइलम आवेदन आई ५८९ को बायोमेट्रिक अप्वाइन्टमेन्टमा उपस्थीत हुनुपर्ने भएतापनि वर्क परिमटको बायोमेट्रिक अप्वाइन्टमेन्टमा उपस्थीत हुनु नपर्ने जनाइएको छ ।
वर्क परमिटका आवेदनमा थप कागजातको माग गरिएको भएमा वा आवेदन अस्वीकृत हुने आशयको पत्र पठाइएको भएमा त्यसको जवाफ दिन सुझाव दिइएको छ । एसाइलमबारे पहिलेको नियम सम्बन्धित वा अन्य नियमका आधारमा जारी त्यस्ता पत्रको जवाफ दिन भनिएको छ । अहिले हटाइएको विगतको नियमका आधारमा आवेदन अस्वीकृत नगरिने भएतापनि त्यस्ता पत्रको जवाफ दिन युएससीआईएसले सुझाव दिएको छ ।
यदि पुरानो वर्क परमिटको नियमको आधारमा मात्र थप कागजातको माग गरिएको भएमा वा आवेदन अस्वीकृत हुने आशयको पत्र पठाइएको भएमा त्यस्तो पत्र प्राप्त भएको स्वीकारोक्तिको सुचनामात्र भएपनि युएससीआईएसलाई पठाउन सुझाव दिइएको छ । कुनै थप प्रमाण आवश्यक नपरेपनि पत्र प्राप्त भएको जानकारीसहितको सुचना पठाएको खण्डमा आवेदनबारे समयमै कदम चाल्न सहयोग पुग्ने युएससीआईएसले जनाएको छ । अन्यथा थप कागजातको माग गरिएको भएमा वा आवेदन अस्वीकृत हुने आशयको पत्र पठाइएको डेडलाइन प्रतिक्षा गर्नुपर्ने अवस्था हुनसक्छ ।
त्यस्तै अबदेखि एसाइलम आवेदकले वर्क परमिट आवेदन दिदा फर्ममा उल्लेख भएको पोर्ट अफ इन्ट्रीबाट कानूनी रुपमा प्रवेश गरेको हो वा होइन भन्ने प्रश्नको जवाफ दिनुपर्नेछैन । पोर्ट अफ इन्ट्रीबाट कानूनी रुपमा प्रवेश गरेकालाईमात्र एसाइलम वर्क परमिट दिने नियम हटाइएकाले यो प्रश्नको जवाफ दिन आवश्यक नभएको हो ।
त्यस्तै अमेरिका प्रवेश गरेको एकबर्ष पूरा भइसकेपछि एसाइलम आवेदन दिएकाहरुले पनि पेन्डिंग एसाइलमका आधारमा वर्क परमिट प्राप्त गर्नेछन् । विगतमा गरेको अपराध वा दोषी ठहर भएका कारण एसाइलम वर्क परमिट नदिने नियम पनि हटाइएकाले जघन्य अपराध गरेकाहरुले बाहेक अरुले वर्क परमिट पाउनेछन् ।
त्यस्तै युएससीआईएसले एसाइलम आवेदन अस्वीकृत गरेमा वर्क परमिटको म्याद पनि सोही मितिमा नै समाप्त हुनेछैन । यदि आवेदक कानूनी स्टाटसमा नै रहेको भएमा युएससीआईएसबाट एसाइलम अस्वीकृत भएमा अस्वीकृत भएको मितिले ६० दिनसम्म वर्क परमिट अद्यावधिक रहनेछ । तर कानूनी स्टाटसमा नरहेको अवस्थामा युएससीआईएसले एसाइलम अस्वीकृत गरेर अदालतमा गएको खण्डमा भने वर्क परमिटमा उल्लेख भएको मितिसम्म नै उक्त वर्क परमिटले काम गर्नेछ ।
बोर्ड अफ इमिग्रेशन अपिलले निर्णय दिइसकेपछि वर्क परमिट नविकरण गर्न नपाइने नियम हटाइएकाले समयमै पुनरावेदन गरेका आवेदनमा वर्क परमिट नविकरणका लागि आवेदन दिन सकिनेछ । त्यस्तै युएससीआईएसका अधिकारीले तजविजका आधारमा वर्क परमिटको आवेदन अस्वीकार गर्न सक्ने व्यवस्था पनि हटाइएको युएससीआईएसले प्रष्ट पारेको छ ।
त्यस्तै सही तरिकाले फाइल नगरिएका एसाइलम आवेदन ३० दिनपछि पनि अस्वीकार गर्नसक्ने नियम पनि हटाइएकाले अब युएससीआईएसले सही तरिकाले फाइल नगरिएका आवेदन पनि ३० दिनपछि अस्वीकार गर्नेछैन । यदि सही तरिकाले फाइल नगरिएका एसाइलम ३० दिनसम्म पनि अस्वीकार नभएमा आवेदन निर्णयका लागि युएससीआईएसले स्वीकार गरेको सम्झनुपर्नेछ । थप जानकारी आवश्यक भएमा युएससीआईएसले सम्पर्क गर्नेछ ।
एसाइलम अधिकारीहरूले आवेदकले पेश गरेका सबै प्रमाणहरु हेर्नेछन् । यदि आवेदकले अन्तरवार्ता अगाडि प्रमाणहरु पेश नगरेका कारण एसाइलम अधिकारीले त्यस्ता प्रमाण हेर्न नपाएको खण्डमा अन्तरवार्ता स्थगित समेत गर्न सक्नेछन् । त्यसैले सकभर आवेदकले अन्तरवार्ता अगाडि नै प्रमाणहरु पेश गर्नुपर्छ । अतिरिक्त प्रमाण कहिले र कसरी पेश गर्ने भन्ने बारे जानकारीको लागि आवेदनको अधिकार क्षेत्र भएको एसाइलम कार्यालयमा सम्पर्क गर्नुपर्छ ।