नविकरणको आवेदन पेन्डिङ रहँदा वर्क परमिटको म्याद अब स्वत १८ महिना लम्बिने
प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार
एसाइलम आवेदकहरु लगायतले वर्क परमिटको नविकरणका लागि आवेदन दिंदा वर्क परमिटको अवधि अब स्वत १८ महिना अर्थात ५४० दिन लम्बिने भएको छ । विगतमा १८० दिनमात्र स्वत लम्बिने प्रावधान रहेकोमा उक्त अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि युएएससीआईएसले स्वत लम्बिने अवधि बढाएको छ ।
मे ४ बुधबारदेखि लागु हुने गरी नविकरणका लागि आवेदन दिएका वर्क पररिमटको अवधि बढाइएको हो । नविकरणका लागि दिएको आवेदन पेन्डिङ अवस्थामा रहेको बेलामा आवेदकलाई वर्क परमिटविहिन हुन नदिन युएससीआईएसले अवधि बढाउने नियम ल्याएको हो ।
वर्क परमिटको अवधि समाप्त हुनुभन्दा ६ महिनाभित्र आवेदन दिनुपर्ने र म्याद सकिएको १८० दिनसम्म वर्क परमिटले काम गर्ने भएतापनि यो १२ महिनाको अवधिमा पनि युएससीआईएसले कैयन आवेदकका वर्क परमिट नविकरण गर्न सकेको छैन । जसका कारण वर्क परमिट नविकरणको आवेदन दिएका कैयन आवेदक वर्क परमिट विहिन बन्न पुग्दा समस्या भोगिरहेका छन् ।
अब उनीहरुको वर्क परमिटले म्याद सकिएको मितिले १८ महिनासम्म काम गर्नेछ । मे ४ सम्म वर्क परमिटको आवेदन पेन्डिङ रहेकाहरुले १८ महिना म्याद थपिएको विवरणसहितको रिसिप्ट प्राप्त गर्ने छैनन् । तर १८० दिनको म्याद थपिएको फर्म ७९७ सी सुचना प्राप्त गरेकाहरुले म्याद सकिएको वर्क परमिटका साथमा उक्त सुचना एकसाथ राखेको खण्डमा १८ महिनाको म्याद प्राप्त गर्ने युएससीआईएसले जनाएको छ ।
वर्क परमिटको म्याद सकिएकाहरुको १८० दिनको म्याद थपको अवधि पूरा भइसकेको भएतापनि उनीहरुको वर्क परमिट आवेदन पेन्डिङ रहेको अवस्थामा उनीहरुको पूरानो वर्क परमिटको म्याद मे ४ देखि स्वत एकबर्ष थपिनेछ । त्यसैले बीचमा वर्क परमिट विहिन भएकाहरुले मे ४ पछि काम सुरु गर्न सक्नेछन् ।
पछिल्ला दिनमा युएससीआईएसले स्वास्थ्यकर्मीहरु र बालबालिकाहरुको हेरचाह गर्नेहरुले वर्क परमिटको छिटो नविकरणका लागि अनुरोध गर्नसक्ने नियम ल्याएको थियो । तर अन्यका सन्दर्भमा भने युएससीआईएसले नविकरणमा लामो समय लगाउँदा काम नै गुमाउनुपर्ने अवस्था समेत आएको थियो । यो स्थीतिको अन्त्य गर्न युएससीआईएसले १८ महिना म्याद थप्ने नियम ल्याएको हो ।