ग्रिनकार्ड लगायतका आवेदनमा निर्णय ढिलो भए कहिले सम्पर्क गर्ने भन्नेबारे नयाँ टुल


प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार

युएससीआईएसले ग्रिनकार्ड लगायतका आफ्ना आवेदनमा निर्णय आउन ढिलो भए नभएको थाहा पाउने नयाँ टुलको व्यवस्था गरेको छ । यो टुलले आवेदन नियमित रुपमा प्रकृयामा गइरहेको वा नियमित समयअवधि भन्दा ढिलो भएकोबारे जानकारी प्रदान गर्दछ ।

यदि नियमित रुपमा नै प्रकृयामा गइरहेको भएमा प्रतिक्षा गर्नुपर्नेछ भने कुन मितिमा आवेदनबारे अनलाइनबाट युएससीआईएसमा सोधपुछ गर्न सकिनेछ भन्ने जानकारी पनि दिइन्छ । यदि आवेदनमा निर्णय आउन नियमित समयअवधिभन्दा ढिलो भएको भएमा तत्काल युएससीआईएसमा अनलाइनबाट सोधपुछ गर्ने विकल्प दिइन्छ ।

आफ्नो आवेदनमा निर्णय हुन कति समय लाग्छ र कहिले युएससीआईएसमा सोधपुछ गर्ने भन्नेबारे थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

अनलाइनमा आफ्नो आवेदनका लागि निर्णय आउन लाग्ने समय हेर्नका लागि सुरुमा फर्मको नाम हाल्नुपर्छ । त्यसपछि कुन श्रेणीको फर्म हो, त्यो छनौट गर्नुपर्छ । पकृया भइरहेको सर्भिस सेन्टर वा फिल्ड अफिस छनौट गरेपछि आफ्नो आवेदनमा निर्णय हुन लाग्ने समय हेर्न सकिनेछ ।

सामान्यतया ८० प्रतिशत आवेदनहरु उक्त अवधिभित्र पूरा हुन्छन् भने कतिपय आवेदनमा निर्णय आउन थप समय समेत लाग्न सक्नेछ । त्यस्तै कतिपय आवेदनमा भने उक्त अवधिभन्दा पनि छिटो निर्णय आउन सक्नेछ । यसमा उल्लेख भएको अवधि औषत अवधि हो ।

युएसीआईएसमा आफ्नो आवेदनबारे कहिले अनलाइनबाट सोधपुछ गर्ने भन्नेबारे थाहा पाउन आवेदनको रिसिप्ट मिति हाल्नुपर्छ । त्यसपछि आवेदन नियमित रुपमा प्रकृयामा गए नगएको थाहा पाउन सकिन्छ भने आवेदनबारे निर्णय प्राप्त नभएको खण्डमा कहिले सोधपुछ गर्ने भन्ने मिति समेत थाहा पाउन सकिन्छ ।

उदाहरणका लागि परिवारमा आधारित ग्रिनकार्डका लागि आई ४८५ आवेदन फाइल गरेको र न्युयोर्कको क्वीन्स फिल्ड अफिस भएकाहरुका लागि यो आवेदनमा निर्णय आउन लाग्ने अवधि औषत १८ महिना रहेको छ । तर आफ्नो आवेदनबारे सोधपुछ गर्नका लागि रिसिप्ट मितिले तीनबर्ष १ महिना प्रतिक्षा गर्नुपर्छ । अर्थात् सन् २०२० को जनवरी १ मा रिसिप्ट मिति भएकाले सन् २०२३ को जनवरी ३० पछि सोधपुछ गर्न सक्नेछन् । फरक फरक आवेदनमा यसको अवधि फरक फरक रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com