डिभी लोटरीको नतिजा सार्वजनिक, भिसा अक्टोबर १ देखि


प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार

आर्थिक बर्ष २०२३ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ ।  नेपाली समय अनुशार शनिबार राती  पौने १०  बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको हो ।

विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

डिभी २०२३ का लागि गत अक्टोबर ६ मा आवेदन खुलेको थियो । नोभेम्बर ९ सम्म अनलाइनमार्फत आवेदन दिएकाहरुलाई लोटरीमा सहभागी गराइएको छ ।

डिभी परे नपरेको कसरी थाहा पाउने ?

तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

कन्फर्मेशन नम्बर हरायो भने के गर्ने ?

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु नपर्ने भएको छ ।

डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा  नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ ।

हराएको कन्मफर्मेशन नम्बर प्राप्त गर्नका लागि यहाँ क्लीक गरेर आफ्नो विवरणहरु पेश गर्नुहोला ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

चिठ्ठा पर्ने आवेदकहरू  ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ ।  भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो ।

आगामी डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य नहुने

डिभी २०२३ भर्नका लागि पासपोर्ट अनिवार्य गरिएको थियो । तर आगामी डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य नहुने भएको छ ।

अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम फेब्रअुरीमा अदालतले खारेज गरिदिएको थियो । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका थिए ।

केलीलाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए । डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुमा अनावश्यक भार थोपरेको थियो भने डिभी भर्नकै लागिमात्र पासपोर्ट बनाउने बाध्यता समेत श्रृजना गरेको थियो ।

नियम लागु गर्नुभन्दा अगाडि नियम लागु हुने मितिले कम्तीमा ३० दिन अगाडि फेडरल रजिष्टरमा प्रकाशित गर्नुपर्ने तथा कमेन्ट अवधि समेत दिनुपर्ने भएतापनि पासपोर्ट अनिवार्य गर्ने नियम ल्याउँदा यो प्रकृया नपनाइएको र गैरकानूनी रुपमा ल्याइएको अदालतको ठहर थियो । यो नियममा विदेश मामिला सम्बन्धि अपवाद लागु हुने ट्रम्प प्रशासनले तर्क गरेको थियो तर यो गलत भएको अदालतले ठहर गरेको थियो ।

सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने प्रावधान ल्याइएको थियो ।

पासपोर्ट अनिवार्य गर्दा पनि सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी २०२१ कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

पासपोर्ट हराएमा वा एक्सपायर भएमा

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।’

यी पेशामा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भए डिभीका लागि योग्य

हाइस्कुल स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने जनाइएको छ । अमेरिकी सरकारले तोकेको काममा अनुभव भएमा शैक्षिक योग्यता नभएपनि डिभी लोटरीको लागि योग्य हुने प्रावधान रहेको छ ।

अमेरिकी सरकारले तोकेका जागिरहरुमा विगत पाँचबर्षभित्र दुईबर्षको अनुभव भएको व्यक्ति डिभी लोटरीका लागि योग्य हुने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।

अमेरिकी सरकारले डिभी लोटरीका लागि पहिलो योग्यताका रुपमा हाइस्कुल स्तर (१२ कक्षासम्म) को शिक्षा तोकेको छ । यदि हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा अमेरिकी सरकारले तोकेका कामममा दुईबर्षको अनुभव भएका व्यक्ति पनि डिभी लोटरीका लागि योग्य हुनेछन् ।

अमेरिकी सरकारले तोकेका एसभीपी ७ भन्दा माथि भएका र जोन ४ र ५ मा पर्ने जागिरहरुमा दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि शैक्षिक योग्यता नभएपनि योग्य हुनसक्ने प्रावधान रहेको छ ।

जसअनुशार हाइस्कुल स्तरको शिक्षा नभएको खण्डमा गायकहरु डिभी लोटरीका लागि योग्य हुँदैनन् तर कवि, गितकार साहित्यकार, लेखकहरु दुईबर्षको तालिम वा अनुभव भएको खण्डमा डिभी लोटरीका लागि योग्य हुन्छन् ।

दुईबर्षको अनुभव वा तालिम भएको खण्डमा सेक्युरिटी मेनेजर, होलसेल सेल्स रेप्रेजेन्टेटिभ, सेल्स मेनेजरहरु पनि योग्य हुन्छन् तर खुद्रा ब्यापारीहरु भने योग्य हुँदैनन् ।

त्यस्तै कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम निर्देशकहरु , पु्रफरिडरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा कार्यक्रम प्रोड्युसरहरु, कला, डिजाइन, मनोरञ्जन, खेलकुद र संचारमाध्यममा संगितकारहरु पनि योग्य हुन्छन् तर मोडलहरु भने योग्य हुँदैनन् ।

लाइब्रेरियन, कला, नाटक, संगितका शिक्षक लगायतका पेशामा दुईबर्षको अनुभव र तालिम भएकाहरु पनि डिभी लोटरीका लागि योग्य हुन्छन् ।

तपाईको पेशा डिभी लोटरीका लागि योग्य भएनभएको जाँच गर्न यो लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

क्लिक गरिसकेपछि तपाईले आफ्नो पेशा छान्नुहोस् । त्यो पेशामा क्लिक गरेर हेर्दा यदि त्यो पेशा जब जोन ४ वा ५ मा परेमा र त्यसलाई एसभीपी ७ वा त्यो भन्दा माथि रेटिङ गरिएको भएमा त्यो काम डिभी लोटरीका लागि योग्य मानिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com