डिभी विजेताले यथाशीघ्र डीएस २६० फर्म भर्न आवश्यक, ध्यान दिनुपर्ने २ महत्वपूर्ण कुरा


प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार

Laptop DV form

डिभी २०२३ को नतिजा आइसकेको छ । अब विजेताहरुले यथाशीघ्र डीएस २६० फर्म भर्न आवश्यक छ । यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क सकिन्छ भने यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत पर्दैन ।

डिभी विजेताले डीएस २६० फर्म निशुल्क भर्नका लागि यहाँ क्लीक गर्नुहोला । तपाईले आफ्नो केस नम्बर हालेर डीएस २६० फर्म भर्न सक्नुहुनेछ ।

डीएस २६० फर्म भर्नुभन्दा अगाडि उक्त फर्मको नमुना र भर्नुपर्ने विवरणहरु समेत हेर्न सकिनेछ । सुरुमा केस नम्बर हालिसकेपछि तपाईले नेशनल भिसा सेन्टरबाट प्राप्त गरेको इन्भोइस नम्बर हाल्नुपर्छ । त्यसपछि तपाईले आफू आवेदक भएको विकल्प छनौट गर्नुपर्छ । आवेदकबाहेक अन्यले वकिल, याचिकाकर्ता वा तेश्रो पार्टी एजेण्ट भएको विकल्प छनौट गर्न सक्नेछन् ।

त्यसपछि तपाईले आफ्नो आप्रवासी भिसा आवेदन भर्ने स्थान देख्नुहुनेछ । त्यहाँ क्लीक गरेर तपाईले आफ्ना विवरणहरु भर्दै जानुपर्नेछ ।

आवेदन कसरी भर्ने ? यसबारेमा आवेदनको नमुना यहाँ हेर्नुहोला ।

डीएस २६० फर्म भर्दा तपाईले अमेरिकामा कुन ठेगानामा ग्रिनकार्ड प्राप्त गर्ने हो उक्त ठेगाना समेत उल्लेख गर्नुपर्छ । तपाईले यो ठेगाना उपलब्ध गराउँदा ठेगाना पूर्ण भए नभएको चेक गर्नुपर्छ । यो ठेगानामा अपार्टमेन्ट नम्बर वा फ्लोर नम्बर भए नभएको राम्रोसँग चेक गर्न आवश्यक छ । ठेगाना पूर्ण नभएका कारण वा अपार्टमेन्ट नम्बर छुटेका कारण अमेरिका आइसकेपछि ग्रिनकार्ड फिर्ता भएर जाने तथा हराउने समस्या देखिएको छ । त्यसपछि ग्रिनकार्ड पुन प्राप्त गर्न लामो समय लाग्ने र झमेला हुने समेत गरेको छ ।

साथै तपाईले आफूलाई सोसल सेक्युरिटी कार्ड आवश्यक भएको र त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुपर्छ ।

यदि तपाईले सोसल सेक्युरिटी कार्ड आवश्यक छ ? भन्ने प्रश्नमा छैनमा टिक लगाउनुभयो र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुहुन्छ ? भन्नेमा गर्दिन भन्नेमा टिक लगाउनुभयो भने तपाईले सोसल सेक्युरिटी कार्ड स्वत प्राप्त गर्नुहुनेछैन । अमेरिका आइसकेपछि तपाईले सोसल सेक्युरिटी अफिसमा गएर पुन आवेदन दिनुपर्ने हुन्छ ।

अमेरिकामा बैंक खाता खोल्नदेखि राज्यका आईडी कार्ड जारी गर्न लगायत ट्याक्स तिर्न र अन्य महत्वपूर्ण कामहरुका लागि सोसल सेक्युरिटी नम्बरको आवश्यकता पर्छ । कैयन आवेदकले डीएस २६० फर्म भर्दा सोसल सेक्युरिटी नम्बर आवश्यक नभएको उल्लेख गर्दा वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान नगर्दा अमेरिका आइसकेपछि झमेला भोग्ने गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com