तिब्बत मामलामा विशेष संयोजक रहेकी अमेरिकी उपविदेशमन्त्री उजरा जेया यसैसाता नेपाल आउँदै
प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार
तिब्बत मामलामा विशेष संयोजक रहेकी अमेरिकी कुटनीतिज्ञ उजरा जेया नेपाल आउने भएकी छिन् । मे १७ देखि २२ सम्म उनको भारत र नेपाल भ्रमण तय भएको हो ।
भारत आइसकेकी उनी त्यसपछि नेपाल आउने जनाइएको छ । भारतीय मुलकी जेयालाई राष्ट्रपति जो बाइडेनले नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारका लागि अमेरिकी उपविदेशमन्त्री नियुक्त गरेका थिए ।
मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यमा सहयोग गहिरो बनाउन र मानवीय प्राथमिकतालाई अगाडि बढाउन उनको भ्रमण फलदायी हुने अमेरिकी विदेश मन्त्रालयले विश्वास लिएको छ । उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि नेपालसँग सहकार्य गर्ने विषयमा समेत छलफल गर्नेछिन् ।
यो भ्रमण मानवअधिकारका प्राथमिकतालाई अगाडि बढाउनमा केन्द्री रहेको समेत विदेश मन्त्रालयका प्रवक्ताले खसोखासलाई जानकारी दिएका छन् । टिममा युएसएआईडीका एसियाका लागि कार्यवाहक सहायक प्रशासक अन्जली कौर समेत रहेकी छिन् ।
Namaste! Great to be back in New Delhi. Look forward to discussions on advancing #USIndia shared values of human rights, humanitarian support, and democratic governance. https://t.co/8rQoayObT6 pic.twitter.com/xylou1HUU1
— Under Secretary Uzra Zeya (@UnderSecStateJ) May 17, 2022
भारतको धर्मशालास्थीत तिब्बती धर्मगुरु दलाई लामासँगका भेटवार्तासहितका कार्यक्रम सकेर उनी नेपाल आउने जनाइएको छ । उनी धर्मशालाबाट नयाँ दिल्ली फर्केर नेपाल आउने कार्यक्रम रहेको छ । उनी शुक्रबार नेपाल आउने गरी नेपालको परराष्ट्रय मन्त्रालयले तयारी गरिरहेको छ भने आइतबार फर्कनेछिन् ।
एक चीन नीतिप्रति प्रतिवद्धता जनाउँदै आएको नेपालका लागि उनको भ्रमण कूटनीतिक दवावका रुपमा हुन लागेको नेपाली अधिकारीहरुको बुझाई छ । नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ बर्ष पुगेको अवशरमा यो भ्रमण हुन लागेको नेपाली अधिकारीहरुले बताएका छन् ।
अमेरिकाले आर्थिक सहायता फण्डमार्फत कम्तीमा अर्को ८० लाख अमेरिकी डलर नेपाल र भारतमा रहेका तिब्बतीहरुको संस्कृति र भाषाको संरक्षणका लागि प्रदान गर्ने बृहत खर्च विधयेक गत मार्चमा पारित गरेको थियो ।
यसै महिनाको सुरुमा एमसीसीका नायव उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपाल भ्रमण गरेका थिए । उनले नेपालका अधिकारीहरुसँग भेटेर एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन अवस्थाबारे छलफल गरेका थिए ।
गतमहिना अमेरिकाका पाँच सांसदले नेपाल भ्रमण गरेका थिए । उक्त सांसद टोली आउनु चार दिनअघि अमेरिकी उपसहायकमन्त्री केली केडरलिङ काठमाडौंमै थिइन्।