विगतमा २ महानगर जितेको एमाले सबै महानगरमा पछाडि, ३ उपमहानगरमा स्वतन्त्रको अग्रता
प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार
२०७४ सालको स्थानीय तह निर्वाचनमा दुई महानगरमा विजयी भएको नेकपा एमाले यस पटक सबै महानगरमा पछि परेको छ। अघिल्लो पटक जितेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदबार बालेन्द्र शाह अग्रता फराकिलो बन्दै गएको छ भने विराटनगरमा काँग्रेस उम्मेदबार विजयी भइसकेका छन् ।
विरगन्ज महानगरपालिकामा सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका छन्। एमाले उम्मेदबार विजयकुमार सरावगी दोश्रोमा छन् ।
पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका उम्मेदबार धनराज आचार्यले अग्रता लिएका छन्। पोखरामा पनि एमालेका
कृष्णबहादुर थापा दोश्रोमा छन् ।
भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छन् । त्यहाँ पनि एमाले उम्मेदबार विजय सुवेदी दोश्रोमा छन् ।
ललितपुरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनको अग्रता कायम छ । एमालेका हरिकृष्ण व्यञ्जनकार दोश्रोमा छन् । यो महानगरमा महर्जनले मतगणनाको प्रारम्भिक चरणदेखि नै निरन्तर अग्रता कायम गरिरहेका छन्।
तीनवटा उपमहानगरमा स्वतन्त्र उम्मेदबार अगाडि रहेका छन् । प्रदेश १ को धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ले अग्रता कायम गरेका छन्।
धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्। जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता कायम गरेका छन्।