आजदेखि सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम
प्रकाशित मिति : जेष्ठ १७, २०७९ मंगलबार
सिमाक्षेत्रबाट विना भिसा अमेरिका आउनेलाई अदालत नगइकनै एसाइलम दिने नीति अमेरिकाले मे ३१ मंगलबारदेखि चरणवद्ध रुपमा लागु गर्न सुरु गरेको छ । नयाँ नीति अन्तरगत मंगलबारदेखि टेक्सासका २ वटा अध्यागमन हिराशतमा अन्तरवार्ता लिन सुरु गरिएको छ ।
मंगलबारदेखि सानो चरणमा कार्यक्रम लागु गर्न सुरु गरिएको भएपनि अध्यागमन अधिकारीहरुले हरेक महिना सयौं आवेदनहरु आउने अपेक्षा गरेका छन् । अहिलेका लागि बोस्टन, लस एन्जसल, मायामी, न्युयोर्क, नेवार्क वा सान फ्रान्सिस्को क्षेत्रमा बस्न चाहने बताउने एसाइलम आवेदकलाईमात्र नयाँ कार्यक्रममा समावेश गरिनेछ । ती क्षेत्रका अदालतमा रहेको चर्को ब्याकलगका कारण अहिले ती क्षेत्र र आसपासमा बस्नेलाई केन्द्रीत गरिएको जनाइएको छ ।
यो नियम लागु हुने मिति वा त्योभन्दा पछाडि तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएकाहरुका सन्दर्भमा मात्र यो नियमले काम गर्नेछ । विगतमा तीब्र गतिका देशनिकालामा राखिएकाहरुका सन्दर्भमा पुरानै नियम लागु हुनेछ ।
नयाँ नियम अनुशार विनाभिसा सिमाक्षेत्रमा आएका र नयाँ नियम अनुशार एसाइलम प्रकृया अगाडि बढाउने आवेदकको सम्पूर्ण प्रकृया ६ महिनामा पूरा हुने लक्ष्य लिइएको छ । अहिलेको प्रणाली अनुरुप ३ देखि ४ बर्ष लाग्दै आएको यो प्रकृया शीघ्र हुने भएको छ भने यसले अध्यागमन अदालतको भार समेत कम गर्ने अपेक्षा गरिएको छ ।
विगत २५ बर्षदेखि अमेरिकामा विना भिसा सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्नेलाई तीब्रगतिको देशनिकालामा राखेर दुईवटा प्रकृया अगाडि बढाउने गरिएको छ । एसाइलम अफिसरले उनीहरुको स्वदेश फर्कनका लागि डर विश्वसनीय भए नभएको निर्धारण गर्ने अन्तरवार्ता लिन्छन् । यदि यो अन्तरवार्ता उत्तिर्ण गरेको खण्डमा उनीहरुलाई एसाइलमबारे अन्तिम निर्णयका लागि अध्यागमन अदालतमा पठाइन्छ ।
तर नयाँ नियम अनुशार तीब्र गतिको देशनिकालाको प्रकृयामा रहेका र स्वदेश फर्कनका लागि डर विश्वसनीय भए नभएको निर्धारण गर्ने क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरेकाहरुलाई अदालतमा नपठाई युएससीआईएसका एसाइलम अधिकारीले अन्तरवार्ता लिएर एसाइलम स्वीकृत गर्ने वा नगर्नेबारे निर्णय गर्नेछन् । प्रारम्भिक स्क्रीनिंग भएको २१ देखि ४५ दिनभित्र उनीहरुको अन्तरवार्ता गरिने छ ।
अन्तरवार्ता भइसकेपछि युएससीआईएसका अधिकारीसँग यसबारे निर्णय गर्ने ६० दिनको समय हुनेछ । स्वीकृत भएको खण्डमा अदालत नगइकन अमेरिकामा बस्ने अनुमति दिइनेछ । उनीहरुले एकबर्षपछि ग्रिनकार्ड आवेदन दिन पाउनेछन् ।
तर यो अन्तरवार्तामा एसाइलम अस्वीकृत भएको खण्डमा भने आवेदकलाई अदालतमा पठाइनेछ । यो अवस्थामा आवेदकको एसाइलम स्वीकृत गर्ने वा नगर्नेबारे अदालतले नै निर्णय गर्नेछ । यो प्रकृया झण्डै ९० दिनकोमात्र हुनेछ । छोटो अवधि हुने भएकाले कतिपय आवेदकले वकिल खोज्नमा समस्या हुनसक्नेबारे चिन्ता समेत जनाइएको छ ।
अध्यागमन अदालतमा पठाइएको ३० दिनभित्र आवेदकको मुद्दाको पहिलो सुनुवाई हुनेछ । त्यसपछि उनीहरुलाई ३० दिनभित्र आफ्नो मुद्दाबारे प्रमाण पेश गर्नका लागि एउटा मौका दिइनेछ । त्यसको ३० दिनपछि आवेदकको मुद्दबारे अन्तिम सुनुवाई हुनेछ । यसरी युएससीआईएसका अधिकारीले अन्तरवार्ता लिएको ९० दिनमा अदालतले यसबारे टुंगो लगाउनेछ । यद्यपी एसाइलम आवेदकले आफ्नो मुद्दाबारे तयारी गर्न थप ३० दिन माग्नसक्ने भएकाले अधिकतम ४ महिनाभित्र मुद्दाको टुंगो लाग्नेछ ।
त्यसपछि या त आवेदकको एसाइलम स्वीकृत हुनेछ, या त अदालतबाट देशनिकालाको निर्णय हुनेछ । एसाइलम स्वीकृत भएको खण्डमा उनीहरुले अमेरिकामा काम गर्न र अन्य अधिकार पाउनुका साथै एकबर्षपछि ग्रिनकार्ड आवेदन दिनसक्नेछन् । अस्वीकृत भएको खण्डमा आईसमार्फत देशनिकाला हुनेछ ।
यो नियम लागु हुने मिति वा त्योभन्दा पछाडि तीब्र गतिको देशनिकालाको प्रकृयामा राखिएकाहरुका सन्दर्भमा मात्र यो नियमले काम गर्नेछ । विगतमा तीब्र गतिका देशनिकालामा राखिएकाहरुका सन्दर्भमा पुरानै नियम लागु हुनेछ ।
यो नियम परम्परागत अध्यागमन प्रकृया अन्तरगत रहेकाहरुका सन्दर्भमामात्र लागु हुनेछ । महामारी सम्बन्धित नियम टाइटल ४२ अन्तरगत प्रकृयामा लगिएकाहरुका सन्दर्भमा यो नियम लागु हुनेछैन । महामारी सम्बन्धि टाइटल ४२ अन्तरगत भने आप्रवासीलाई एसाइलम खोज्ने अवशर विना नै देशनिकाला गर्ने नीति जारी राखिनेछ ।
सन् २०२० को मार्चमा ट्रम्प प्रशासनले टाइटल ४२ नियम लागु गरेदेखि झण्डै २० लाखलाई अमेरिकामा एसाइलमको अवशर विना नै उनीहरुको देश फिर्ता पठाइएको छ । बाइडेन प्रशासनले यो नियम गत साता समाप्त पार्न लागेपनि अदालतले कार्यान्वयन गर्नका लागि आदेश दिएको थियो ।