साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले डेढ महिनामा दियो ९६६ नेपालीलाई डाइभर्सिटी भिसा
प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार
डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि अप्रिलभरमा ९६६ नेपालीहरुलाई डाइभर्सिटी भिसा दिएको छ । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन ।
मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको अमेरिकी दूतावासले जनाएको थियो । यद्यपी मार्चमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको तथ्यांक अमेरिकी सरकारको विदेश मन्त्रालयबाट सार्वजनिक भएको छ । अप्रिलमा अमेरिकी दूतावास काठमाडौंबाट ६ सय ४६ नेपालीले डाइभर्सिटी भिसा पाएका छन् ।
मार्चमा अन्य देशबाट भिसा पाउने र अमेरिकामा नै स्थीति समायोजन गर्नेहरुको समेत संख्या जोड्दा कुल भिसा प्राप्त गर्ने डिभी विजेता नेपालीहरुको संख्या भने ३ सय ४ रहेको थियो । अप्रिलमा यो संख्या ६ सय ६२ रहेको थियो ।
डिभी २०२२ का विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ । अहिलेको गति कायम रहेको खण्डमा डिभी २०२२ का योग्य अधिकांश विजेताहरुले भिसा पाउने सम्भावना रहेको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।
अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । जुन संख्या झण्डै ३८ सय हो ।