टीपीएसबाहकलाई अब एड्भान्स परोलको साटो प्रदान गरिने कागजात के हो ? को प्रभावित हुन्छ ?


प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार

जुलाई १ देखि लागु हुनेगरी युएससीआईएसले टीपीएसवाहकलाई अमेरिकाबाहिर यात्रा गर्नका लागि एड्भान्स परोलको साटो नयाँ यात्रा अनुमतिपत्र जारी गर्न सुरु गरेको छ । युएससीआईएसले अब टीपीएसवाहकलाई गैर नागरिकलाई अमेरिका यात्रा गर्नका लागि अनुमति दिने आई ५१२ टी जारी गर्न सुरु गरेको छ ।

विगतमा टीपीएसवाहकका लागि अमेरिकाबाहिर यात्रा गरेर फर्कनका लागि युएससीआईएसले पूर्व अनुमतिका रुपमा एड्भान्स परोल कागजात जारी गर्दै आएको थियो । तर अब त्यस्तो कागजात जारी नगरिने भएको छ । यद्यपी विगतमा एड्भान्स परोल लिएकाहरुले भने उक्त कागजातमा उल्लेख भएको मितिभित्र अमेरिकाबाहिर यात्रा गरेर फर्कन भने पाउनेछन् ।

अमेरिकाबाहिर यात्रा गरेर आउन चाहने टीपीएसवाहकले नयाँ यात्रा अनुमतिपत्रका लागि फर्म आई १३१ भरेर आवेदन दिन सक्नेछन् । एड्भान्स परोलका लागि विगतमा आई १३१ फर्म भरेर आवेदन दिएका तर आवेदन पेन्डिङ रहेकाहरुले नयाँ आवेदन दिनुपर्नेछैन, पेन्डिङ आवेदनकै आधारमा नयाँ यात्रा अनुमतिपत्र प्राप्त गर्नेछन् ।

टीपीएसका लागि आवेदन पेन्डिङ रहेकाहरुका सन्दर्भमा समेत युएससीआईएसले यात्रा अनुमतिपत्रहरु जारी गर्नेछ । अर्थात् टीपीएस आवेदन आई ८२१ स्वीकृत भएकाहरुलेमात्र नभई पेन्डिङ रहेकाहरुले समेत अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा यात्रा अनुमतिपत्र प्राप्त गर्ने क्रम जारी नै रहनेछ ।

नयाँ यात्रा अनुमतिपत्रले के काम गर्छ ?

युएससीआईएसले आफ्नो नीति निर्देशिकामा अपडेट गर्दै टीपीएस प्राप्त गरेकाहरुले यात्रा अनुमतिपत्र लिएर अमेरिकाबाहिर यात्रा गरेपछि पर्ने प्रभावबारे पनि अपडेट गरेको हो । नयाँ मेमोले यात्रा अनुमतिपत्र लिएर अमेरिकाबाहिर गएर आएका टीपीएसबाहकका सन्दर्भमा रहेको पुरानो नीतिलाई हटाएको छ । युएससीआईएसले जारी गर्ने नयाँ यात्रा अनुमतिपत्रले अमेरिकामा नीरिक्षण र भर्ना गरेको प्रमाणका रुपमा काम गर्नेछ ।

युएससीआईएसले यसबारे जारी गरेको पोलिसी अलर्ट

विगतमा सिमाक्षेत्रबाट विना भिसा प्रवेश गरेकाहरुका सन्दर्भमा समेत टीपीएसमार्फत यात्रा अनुमतिपत्र लिएर अमेरिकाबाहिर गएर आएको खण्डमा उनीहरुलाई भिसा लिएर आएको सरह नीरिक्षण र भर्ना गरेको मानिने छ । अर्थात् उनीहरुले अमेरिकाको अध्यागमन कानून २४५ अन्तरगत ग्रिनकार्डका लागि आवेदन दिने प्रयोजनका लागि समेत भिसा लिएर आएको सरह नीरिक्षण र भर्ना गरेको व्यक्तिको मान्यता पाउनेछन् ।

विगतको नियमले टीपीएसवाहकले अमेरिकाबाहिर यात्रा गरेर फर्केपनि अमेरिका छाड्नु अगाडिको कुनै पनि अध्यागमन अवस्थामा परिवर्तन नआउने व्यवस्था रहेको थियो । तर अब यात्रा अनुमतिपत्रमा अमेरिकाबाहिर यात्रा गरेर फर्केपनि टीपीएसवाहकलाई अमेरिकामा बैध रुपमा प्रवेश गरेको नीरिक्षण गरिएको व्यक्तिको रुपमा मान्यता दिइनेछ ।

विगतमा एड्भान्स परोल लिएकापनि योग्य हुन्छन् ?

कुनै टीपीएसवाहकले स्थिति समायोजनको लागि आवेदन दिएको खण्डमा वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएको खण्डमा युएससीआईएसले आवेदकको विगतमा एड्भान्स परोलसहितको यात्रालाई मान्यता दिने वा नदिनेबारे विचार गर्ने जनाएको छ । आवेदन अनुशार, पूर्व नीति र कानूनको विचार गरेर यसबारे निर्णय लिने युएससीआईएसको भनाई छ ।

युएससीआईएसले यसबारे जारी गरेको ४६ पृष्ठ लामो मेमो

विगतमा एड्भान्स परोल लिएर यात्रा गरेका टीपीएसवाहकले त्यसका अतिरिक्त अन्य ४ वटा मापदण्डहरु पूरा गरेको हुनुपर्छ । विगतमा अमेरिकाबाहिर यात्रा गर्नका लागि टीपीएस आवेदक वा वाहकका रुपमा एड्भान्स परोल प्राप्त गरेको हुनुपर्नेछ भने यात्राका क्रममा टीपएस फिर्ता लिएको, खारेज गरेको वा टीपीएसको अवधि सकिएको हुनुहुँदैन । त्यस्तै एड्भान्स परोलको नियम अनुशार अमेरिका फिर्ता भएको र फिर्ता हुने क्रममा पोर्ट अफ इन्ट्रीमा कानूनी रुपमा प्रवेश गरेको हुनुपर्नेछ ।

विगतमा के थियो ? अहिलेको परिवर्तन के हो ?

अमेरिकाका सर्किट कोर्टहरुमा टीपीएस स्वीकृतिलाई अमेरिकामा भिसा सरह प्रवेश गरेको मान्यता दिने नदिने विषयमा विभाजन देखिएको थियो । कतिपय सर्किट कोर्टहरुले टीपीएस प्राप्त गरेकाहरुले विगतमा गैरकानूनी रुपमा प्रवेश गरेको भएतापनि अमेरिकामा अध्यागमन स्थीति समायोजन गर्न पाउने राय दिएका थिए भने कतिपयले नपाउने राय दिएका थिए । तर गत बर्ष अर्थात् सन् २०२१ को जुन ७ मा अमेरिकाको सर्वोच्च अदालतले टीपीएस स्वीकृति भएको व्यक्ति विगतमा विना भिसा प्रवेश गरेको भएमा अध्यागमन स्थीति समायोजन गर्न नपाउने फैसला गरेर उक्त विवादलाई टुंग्याएको थियो ।

यद्यपी अदालतले एड्भान्स परोलमा अमेरिकाबाहिर गएर फर्केका टीपीएसवाहकका सन्दर्भमा भिसामा प्रवेश गरे सरह अध्यागमन स्थीति समायोजन गर्न पाउने वा नपाउने भन्नेबारे केही बोलेको थिएन । अध्यागमन कानूनमा एउटा व्यवस्थामा टीपीएसलाई वैध स्टाटसका रुपमा मान्ने उल्लेख भएपनि अर्को व्यवस्थामा ग्रिनकार्डका लागि आवेदन दिनका लागि टीपीएस वाहक कानूनी रुपमा अमेरिका प्रवेश गरेको हुनुपर्ने व्यवस्था रहेको छ । तर यी व्यवस्थाहरुले गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका टीपीएसवाहकलाई ग्रिनकार्ड प्राप्त गर्न योग्य ठहर नगर्ने अदालतले ठहर गरेको थियो ।

यी समग्र स्थीतिको मूल्यांकन गरेर अहिले युएससीआईएसले यसबारे थप प्रष्ट पार्दै नयाँ नीति ल्याएको छ । जस अनुशार गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका टीपीएसवाहक ग्रिनकार्ड प्राप्त गर्न योग्य ठहर नभएतापनि उनीहरु एड्भान्स परोल लिएर वा नयाँ यात्रा अनुमतिपत्र लिएर अमेरिकाबाहिर गएर आएको खण्डमा भने ग्रिनकार्ड प्राप्त गर्न योग्य हुनसक्नेछन् । जुलाई १ देखि लागु गरिएको यो नियमले खासगरी अमेरिकामा विना भिसा प्रवेश गरेका टीपीएसवाहकहरुलाई फाइदा पुग्नेछ । अर्थात् उनीहरुले यात्रा अनुमतिपत्र लिएर अमेरिकाबाहिर गएर आएपछि आफ्नो अध्यागमन स्थीति समायोजन गर्न सक्नेछन् । यद्यपी उनीहरुले अध्यागमन कानून अनुशार अन्य योग्यताहरु भने पूरा गरेको हुनुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com