महानगरबाट ‘एककरोड विनियोजन गरिएको समाचार’को ‘रुटिन अफ नेपाल बन्द’बाट खण्डन


प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने ‘रुटिन अफ नेपाल बन्द’लाई एक करोड बजेट विनियोजन गरिएको भन्दै नेपाली संचारमाध्यमहरुमा प्रकाशित र प्रशारित समाचारको खण्डन गरिएको छ ।

महानगरले ई–स्पोर्ट्स (मोबाइल गेम) प्रतियोगिता आयोजना गर्न एक करोड रुपैयाँ विनियोजन गरेपछि उक्त प्रतियोगिताका संस्थापक रुटिन अफ नेपाल बन्दका संचालक रहेको भन्दै समाचार प्रकाशित भएको हो ।

तर रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सामाजिक सञ्जाल मार्फत उक्त समाचारको खण्डन गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रिय हिमालयन टेलिभिजन म एउटा इ-स्पोर्ट टिमको सह-स्थापक हुँ , आयोजक हैन रुटिन अफ नेपाल बन्द र डिआरएस कम्पनीको कुनै सम्बन्ध छैन, ‘उनी थप्छन्, ‘बेइज्जत नै गर्ने भए ‘लजिक’ दिएर गर्नु प्रमाणित गर्नुहोस्, सबै आफू जस्तो हुन्छ्न् भनेर नसोच्नुहोला।’

हाल नेपालमा ‘ई-स्पोर्ट’ सञ्चालनको लागि आधिकारिक कम्पनीको रूपमा रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल समेत सहभागी रहेको डिआरएस नामक कम्पनी मात्र दर्ता रहेको जनाइएको छ।

सुरुम ‘हिमालयन टेलिभिजन’ ले रुटिन अफ नेपाल बन्दकै लागि भनेर मेयर बालेनले एक करोड रुपैयाँ छुट्टाएको दाबीसहित भिडिओ सामग्री सम्प्रेषण गरेको थियो ।

त्यस्तै रुटिन अफ नेपाल बन्दले पनि वक्तव्य जारी गर्दै समाचारको खण्डन गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com