साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान किन बाइडेनलाई स्वागत गर्न एयरपोर्ट गएनन् ?


प्रकाशित मिति : असार ३२, २०७९ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार साँझ साउदी अरब पुगे । राष्ट्रपतिका रूपमा उनको यो पहिलो साउदी भ्रमण हो । जो बाइडेन सत्तामा आएदेखि साउदी अरब र अमेरिकाबीचको सम्बन्धमा निकै तनाव आएको छ ।

बाइडेनको भ्रमणलाई साउदी अरबसँगको सम्बन्धलाई पुन: ट्रयाकमा ल्याउने प्रयासका रूपमा हेरिएको छ। यसबाहेक साउदी अरबले तेल उत्पादन बढाएको र यस क्षेत्रमा इजरायलको स्वीकृति बढेको बाइडेन चाहन्छन्।

शुक्रबार साँझ बाइडेन जेद्दाह विमानस्थलमा पुग्दा उनलाई स्वागत गर्न न त शाही परिवारका राजा सलमान थिए न त उनका छोरा युवराज मोहम्मद बिन सलमान थिए ।

साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउद र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच साउदी अरबको अलसलाम दरबारमा भएको भेटघाट

युवराज मोहम्मद बिन सलमानलाई अहिले साउदी अरबको वास्तविक शासक मानिन्छ। बाइडेनको स्वागतमा साउदी अरबको मक्का प्रान्तका गभर्नर खालिद बिन फैसल अल साउद सरिक थिए । यसबाहेक अमेरिकाका लागि साउदी अरबकी राजदूत राजकुमारी रीमा बिन्त बन्दर पनि त्यहाँ थिइन् ।

युरोपियन काउन्सिल फर फरेन रिलेसन रिसर्चकी फेलो सिन्जिया बियान्कोले ट्विट गर्दै बाइडेनलाई स्वागत गर्न मक्काका गभर्नरमात्र जानु नराम्रो संकेत भएको बताइन् । साउदीको यो रबैयाले ओबामाको भ्रमणको सम्झना गराएको छ । ओबामालाई रियादका तत्कालीन गभर्नरले स्वागत गरेका थिए ।

तर रियादको किंग फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडीजका वरिष्ठ फेलो डा मार्क थम्पसनले राष्ट्रपति बाइडेनलाई कुन दर्जाका अधिकारीले स्वागत गर्छन् भन्ने कुराले सम्बन्धको विश्लेषण गर्न नसकिने बताए । किनभने बेलायती प्रधानमन्त्रीलाई पनि रियादका डेपुटी गभर्नरले स्वागत गरेका थिए । पछि साउदी युवराज मोहम्मद बिन सलमानलाई शाही दरबारमा भेटेका थिए ।

यसपटक पनि अल–सलाम दरबारको प्रवेशद्वारमा युवराज मोहम्मद बिन सलमान राष्ट्रपति बाइडेनलाई स्वागत गर्न उभिएका थिए । दुबैले हल्का मुट्ठी ठोक्काएका थिए तर त्यती न्यानोपन भने देखिएन । दुबैको अनुहारमा मुस्कान पनि थिएन ।

साउदी राजकुमार मोहम्मद बिन सलमानले पत्रकार जमाल खशोग्गीको हत्याको आदेश दिएको अमेरिकी गुप्तचर अधिकारीहरूले निष्कर्ष निकालेका थिए । पत्रकार जमाल खशोग्गीको मृत्युमा साउदी अरबलाई एक्ल्याउने बनाउने वाचा गरेको तीन वर्ष नहुँदै राष्ट्रपति जो बाइडेन साउदी नेतृत्वसँग भेट्न  त्यहाँ पुगेका हुन् ।

साउदी अरबमा बाइडेनको फिका स्वागतलाई दुई देशबीचको तनावको पुष्टिको रूपमा हेरिएको छ। यसबाहेक बाइडनको भ्रमणलाई तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे २०१७ मा भएको भ्रमणसँग पनि तुलना गरिएको छ । ट्रम्पलाई स्वागत गर्न साउदी अरबका राजा सलमान आफैं विमानस्थलमा पुगेका थिए ।

राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले पहिलो विदेश भ्रमणका लागि साउदी अरबलाई रोजेका थिए भने अमेरिकाका बाँकी राष्ट्रपति परम्परागत रूपमा पहिलो विदेश भ्रमणमा छिमेकी मुलुक क्यानडा वा मेक्सिको गएका थिए । ट्रम्पको स्वागतका लागि परम्परागत तरवार नृत्य पनि भएको थियो र त्यसमा साउदी अरबका राजा सलमान पनि सहभागी थिए ।

ट्रम्पलाई साउदी अरबले अर्डर अफ द अब्दुल अजिज अल साउद मेडल पनि दिएको थियो ।

सुरुमा साउदी अरबले कतारविरुद्ध नाकाबन्दी लगाएपछि ट्रम्पले त्यसको समर्थन गरेका थिए । तर पछि उनले कतारसँगको तनाव अन्त्य गर्न पनि काम गरे। ट्रम्पले साउदी अरबलाई अर्बौं डलरको हतियार बेच्ने स्वीकृति दिएका थिए भने अमेरिकी सांसदहरूले यो निर्णयको विरोध गरेका थिए।

यमनमा साउदी अरबको आक्रमणका कारण सर्वसाधारण मारिने क्रममा समेत ट्रम्पले साउदी अरबलाई हतियार आपूर्तिमा लगाइएको प्रतिबन्ध खारेज गरेका थिए । ट्रम्पले पत्रकार जमाल खशोग्गीको हत्यामा युवराजको पनि बचाउ गरेका थिए ।

ट्रम्पले साउदी अरबलाई हतियार बेच्दा अमेरिकाका जनतालाई रोजगारी मिल्ने र मानवअधिकारको मुद्दामा यसलाई खतरामा पार्न नसक्ने बताएका थिए । युवराज मोहम्मद बिन सलमानको डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग पनि घनिष्ठ सम्बन्ध थियो।

अर्कोतर्फ, नोभेम्बर २०१९ मा जो बाइडेनले डेमोक्र्याटिक पार्टीको तर्फबाट चुनावी प्रचार गरिरहेका बेला उनले राष्ट्रपति बनेपछि साउदी अरबलाई हतियार नबेच्ने बताएका थिए । बाइडेनले वाशिंगटन पोस्टका स्तम्भकार जमाल खशोग्गीको हत्याको मूल्य साउदी अरबले चुकाउनु पर्ने पनि बताएका थिए ।

बाइडेनले भनेका थिए  -‘म यो स्पष्ट गर्न चाहन्छु कि हामी साउदी अरबलाई अब कुनै हतियार दिनेछैनौं। उसले जमाल खशोग्गी मुद्दामा मूल्य चुकाउनु पर्नेछ।’

बाइडेन साउदी अरब भ्रमण गर्ने आठौं अमेरिकी राष्ट्रपति हुन्।

बाराक ओबामा राष्ट्रपति हुँदा चार पटक साउदी अरबको भ्रमण गरेका थिए। ओबामाले पहिलो पटक सन् २००९ मा रियादको भ्रमण गरेका थिए । त्यतीबेला उनी राष्ट्रपति बनेको पाँच महिना पनि भएको थिएन । सन् २०१६ मा कार्यकाल सकिएपछि पनि ओबामा फेरि साउदी अरब गएका थिए ।

त्यसपछि राजा अब्दुल्लाको मृत्युपछि राजा सलमानले सत्ता सम्हालेका थिए । तर ओबामालाई राजा सलमानले स्वागत गरेनन्। उनलाई पनि रियादका गभर्नरले स्वागत गरेका थिए । ओबामाको त्यो भ्रमण त्यहाँको सरकारी टेलिभिजनमा पनि देखाइएको थिएन।

आफ्नो दुई कार्यकालमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले पनि आफ्नो अन्तिम वर्षमा सन् २००८ मा साउदी अरबको भ्रमण गरेका थिए । तेलको मूल्य बढेपछि र २००८ को आर्थिक मन्दीपछि उनले साउदी अरबको भ्रमण गरेका थिए। त्यतीबेला राजा अब्दुल्लाह जर्ज बुसलाई स्वागत गर्न विमानस्थलमा आएका थिए। राजा अब्दुल्लाले राष्ट्रपति बुसलाई चुम्बन गरेर स्वागत गरे। जसको तस्विर निकै चर्चित भएको थियो ।

जर्ज डब्ल्यु बुस र बाइडेनको भ्रमणलाई तुलनात्मक रुपमा समेत हेरिएको छ । बुशले पनि साउदी अरबले तेल उत्पादन बढाएको चाहेका थिए ताकि मूल्य घटोस् । र बाइडेनले पनि साउदी अरबलाई उत्पादन बढाउन आग्रह गरिरहेका छन्।

साउदीका लागि अमेरिकी राजदूत चाइसा फ्रिम्यान अमेरिका–साउदी सम्बन्धमा मानवअधिकार र मूल्यले कुनै भूमिका नखेलेको बताएका छन् । सुरुदेखि नै दुई देशबीचको सम्बन्ध आपसी हितमा आधारित हुँदै आएको उनको भनाई छ ।

सन् १९४५ को भ्यालेन्टाइन डेका दिन अमेरिका–साउदी सम्बन्धको जग राखिएको थियो । सोही दिन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्ट र साउदी अरबका संस्थापक राजा अब्दुलअजीज इब्न साउदले स्वेज नहरमा अमेरिकी नौसेनाको जहाजमा भेट गरेका थिए।

त्यही भेटघाटमा राजा अब्दुलअजीजले अमेरिकालाई सस्तोमा साउदीको तेल दिन सहमत भएका थिए । बदलामा रुजवेल्टले साउदीलाई बाहिरका शत्रुहरूबाट बचाउने वाचा राजासँग गरे।

भ्यालेन्टाइन डेमा दुई देशबीच फस्टाएको यो ‘प्रेम’ले छ वटा इजरायलअरब युद्ध भोगेको छ जबकी दुवै अलग–अलग खेमामा उभिएका थिए । सन् १९७३ को अरब तेल संकटमा पनि दुवै देशको ‘प्रेम’मा कुनै कमी आएको छैन ।

यी दुईबीच तेलको सुरक्षाको समीकरण यति बलियो छ कि सेप्टेम्बर ११ को आक्रमणबाट पनि यो सम्बन्ध प्रभावित भएन । जबकी विमान अपहरण गर्ने अधिकांश साउदी अरबका नागरिक थिए ।

सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गर्दा साउदीलाई सद्दाम हुसैनको सत्ताको अन्त्यले इरान बलियो हुने कुरा थाहा थियो तर त्यो अवधिको तातोले पनि यी दुईबीचको सम्बन्ध तोड्न सकेन ।

सन् १९९१ मा फारसको खाडीमा युद्ध सुरु भयो, तब अमेरिकी राष्ट्रपति जर्ज एचडब्ल्यू बुशले रुजवेल्टको सम्झौतालाई सम्मान गर्दै साउदी अरबलाई इराकी सेनाबाट जोगाएका थिए ।

सन् १९४५ मा राखिएको सम्बन्धको जग पक्कै पनि बलियो रूपमा अघि बढेको छ तर अपराधीहरूको शिर काट्ने जस्ता राजतन्त्र र उसका सामाजिक धार्मिक नियमहरू पश्चिमको लोकतान्त्रिक मूल्यमान्यताविपरीत छन्। अमेरिका धेरै पटक यी चीजहरूबाट असहज भएको छ।

७३ वर्षको सम्बन्धमा अमेरिका र साउदी अरबबीच दुईपटक मात्रै तनाब भएको छ । सन् १९६२ मा राष्ट्रपति जोन एफ केनेडीलाई तत्कालीन क्राउन प्रिन्स फैसलले दासत्व अन्त्य गर्न आग्रह गरेका गर्दा तनाव उत्पन्न भएको थियो । दोस्रो पटक २०१५ मा राष्ट्रपति बाराक ओबामाले राजा सलमानलाई जेलमा रहेका राइफ बडावीलाई सार्वजनिक रूपमा सजाय दिन बन्द गर्न राजी गराउदा उत्पन्न भएको थियो ।

इस्लामको अपमान गरेको आरोपमा बदावीलाई दश वर्षको जेल र एक हजार कोर्राको सजाय सुनाइएको थियो। उनले ब्लग लेखेको कारणले यो सजाय पाएका थिए। बदावीलाई पहिले नै ५० कोर्रा लगाइएको थियो ।

यस मामिलामा जिम्मी कार्टरलाई अमेरिकाको पहिलो राष्ट्रपति मानिन्छ, जसले मानवअधिकारलाई विदेश नीतिको शीर्ष स्थानमा राखेका थिउ । सन् १९७७ देखि अमेरिकी विदेश मन्त्रालयले विश्वका देशहरूको मानवअधिकारसम्बन्धी वार्षिक प्रतिवेदन बनाउन थाल्यो । तर कार्टर वा अन्य राष्ट्रपतिहरूले साउदीको बारेमा भने कहिल्यै यस्तो रिपोर्ट बनाएनन् ।

क्राउन प्रिन्स सलमानको आगमन पछि, ठूलो संख्यामा मानवअधिकारकर्मी, महिला र महिला अधिकारका लागि लडिरहेका वकिलहरूलाई साउदीमा गिरफ्तार गरी जेलमा थुनिएको छ । राष्ट्रपति ट्रम्पले पनि आफ्ना पूर्ववर्तीहरूको जस्तै नीति लिएका थिए । तर बाइडेनले परिस्थिति बदल्ने प्रयास गर्ने अपेक्षा गरिएपनि त्यस्तो भएको देखिँदैन। बाइडेनले सत्तामा आएपछि आफूले आफ्ना समकक्षीहरूसँग मात्रै वार्ता गर्ने बताएका थिए । तर परिस्थिति बदलिएको छ । र बाइडेन युवराजलाई भेट्न साउदी अरब जानुपरेको छ ।

बीबीसीमा प्रकाशित रजनिश कुमारको रिपोर्ट ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com