ग्रिनकार्ड खेर जान नदिन योग्यहरुलाई तुरुन्त रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन सुझाव


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

ग्रिनकार्ड खेर जान नदिन युएससीआईएसले योग्यहरुलाई तुरुन्त रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन सुझाव दिएको छ । खासगरी आई १४० आवेदन स्वीकृत भइसकेकाहरुलाई मेडिकल रिपोर्टका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सुझाव दिइएको छ ।

चालु आर्थिक बर्षको ग्रिनकार्डको कोटा आगामी सेप्टेम्बरभित्र प्रयोग गरिसक्नुपर्ने भएकाले योग्यहरुलाई यथाशीघ्र ग्रिनकार्ड आवेदन दिन सुझाव दिइएको छ । साथै युएससीआईएसले मागेको खण्डमा रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई तुरुन्तै मेडिकल रिपोर्ट पठाउन समेत सुझाव दिएको छ ।

चालु आर्थिक बर्षमा रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा विगतको तुलनामा झण्डै दोब्बर रहेको छ । हरेक बर्ष १ लाख ४० हजार रोजगारमा आधारित ग्रिनकार्डहरु उपलब्ध हुने भएतापनि कोरोना महामारीका कारण पूरै संख्या प्रयोग नहुँदा यो बर्षका लागि रोजगारमा आधारित ग्रिनकार्डको कोटा झण्डै २ लाख ९० हजार रहेको छ । गत आर्थिक बर्षमा १ लाख २२ हजारभन्दा धेरै थप रोजगारमा आधारित ग्रिनकार्डहरु उपलब्ध रहेकोमा नियमित १ लाख ४० हजार जोड्दा २ लाख ६२ हजारभन्दा धेरै रोजगारमा आधारित ग्रिनकार्डहरु उपलब्ध रहेका थिए ।

गतबर्ष कुल २ लाख ६२ हजार २ सय ८८ भिसा उपलब्ध रहेकोमा १ लाख ९५ हजार ५ सय ७ भिसाहरुमात्र प्रयोग भए । जसमा युएससीआईएसले १ लाख ७५ हजार ७ सय २८ र नेशनल भिसा सेन्टरले १९ हजार ७ सय ७९ भिसा प्रयोग गरेको थियो । गतबर्ष ६६ हजार ७ सय ८१ भिसा प्रयोगमा आएनन् ।

एउटा देशका लागि पूर्ण कोटाको अधिकतम ७ प्रतिशतसम्म ग्रिनकार्ड जारी गर्नसकिने भएकाले चालु आर्थिक बर्षमा नेपालीहरु अधिकतम २० हजारभन्दा बढी ग्रिनकार्डका लागि रोजगारमा आधारित श्रेणीको ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् । यो श्रेणीको ग्रिनकार्ड नेपालबाटै पनि फाइल गर्नसकिन्छ ।

गत आर्थिक बर्षमा महामारीका कारण रोजगारमा आधारित ग्रिनकार्डमा धेरै आप्रवासी भिसाहरु जारी हुन नसकेपछि उक्त कोटा चालु आर्थिक बर्षका लागि थपिएको हो । गतबर्ष कोरोनाको महामारीका कारण विदेशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले रोजागारमा आधारित ग्रिनकार्डका लागि आप्रवासी भिसा अत्यन्तै कम संख्यामामात्र जारी गरेका थिए । रोजगारमा आधारित ग्रिनकार्डमा अस्थायी कामदार भिसाहरु एच श्रेणीका भिसाहरु पर्दैनन् ।

रोजागारमा आधारित पहिलो श्रेणीमा विज्ञान, कला, शिक्षा, व्यवसाय, खेलकुदमा असाधारण प्रतिभा भएकाहरु पर्छन् । त्यस्तै उत्कृष्ट शोधकर्ताहरु र प्राध्यापाकहरु यो श्रेणीमा पर्छन् । उनीहरुसँग कम्तीमा तीनबर्षसम्म प्राध्यापन वा शोधको अनुभव भएको हुनुपर्छ । त्यस्तै बहुराष्ट्रिय प्रबन्धक वा कार्यकारीहरु पनि यो श्रेणीमा पर्छन् । अमेरिकी रोजगारदाताको विदेशमा रहेको शाखा, सम्बन्धित कम्पनी वा सहायक कम्पनीमा कम्तीमा तीनबर्ष काम गरेकाहरु यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन्छन् ।

दोश्रो श्रेणीमा एड्भान्स डिग्रीहोल्डरहरु र अपवादयुक्त क्षमता भएकाहरु पर्छन् । तेश्रो श्रेणीमा दक्ष कामदार, पेशाकर्मी र कम क्षमता भएका कामदारहरु पर्छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com