बुधबार आइसोलेसनबाट निस्केका अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोरोना पोजेटिभ


प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार

अघिल्लो बिहिबार कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आजफेरि कोरोना पोजेटिभ देखिएको छ । मंगलबार, बुधबार, बिहिबार र शुक्रबार परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकोमा आज गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।

बाइडेनलाई कुनै लक्षण भने नदेखिएको ह्वाइटहाउसले जनाएको छ । एन्टीभाइरल प्याक्सलोभिड सेवन गरेका कतिपय संक्रमितमा दोहोरिएर कोरोना पोजेटिभ देखिएको र बाइडेनलाई पनि त्यस्तै भएको ह्वाइटहाउसका चिकित्सकले जनाएका छन् ।

प्याक्सलोभिडको मात्रा पूरा गरेपछि पनि कतिपयमा कोरोना पोजेटिभ देखिनु असमान्य भएतापनि यसको अर्थ औषधीले काम नगरेको भने नहुने चिकित्सकहरुको भनाई छ । उच्च जोखिममा रहेका विरामीहरुलाई यो औषधीको सेवनपछि अस्पताल भर्ना हुने जोखिम कम हुने जनाइएको छ ।

बाइडेनलाई पुराना लक्षणहरु भने नदोहोरिएको र निको हुने क्रम जारी रहेको जनाइएको छ । फेरि उपचार नचलाइने तर अवस्थाको नजिकबाट मूल्यांकन गरिने ह्वाइटहाउसले जनाएको छ । शनिबार दिउसो आफूलाई कोरोना पोजेटिभ देखिएकोबारे ट्वीटरमा पोष्ट गर्दै राष्ट्रपति बाइडेनले आइसोलेन पुन सुरु गर्ने बताएका थिए ।

जुलाई २१ मा कोरोना संक्रमणपछि बुधबारमात्र बाइडेन आइसोलेसनपछि निवासबाट बाहिर निस्केका थिए । उनलाई रुघा लाग्ने, खोकी लाग्ने, घाँटी दुख्ने, सामान्य ज्वरो आउने र जिउ दुख्ने जस्ता लक्षणहरु देखिएका थिए ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com