१२ बर्षमा बलात्कृत आमाबाट जन्मेका छोराले २८ बर्षपछि खोजे न्याय, बलात्कारी पक्राउ
प्रकाशित मिति : श्रावण २२, २०७९ आईतबार
भारतको उत्तर प्रदेशको शाहजहांपुरमा २८ वर्षअघि एक बालिकालाई दुई पुरुषले ६ महिनासम्म लगातार बलात्कार गरेका थिए । त्यो बेला उनी १२ वर्षकी थिईन् । उनी गर्भवती भइन् र छोरा जन्माइन् ।
छोराको जन्म पछि उनको जीवनमा धेरै कठिन मोडहरू आए। समाजले पनि साथ दिएन ।
तर, एक दिन जब उनको छोरो १३ वर्षको थियो, उसले आमालाई सोध्यो– ‘मेरो बुबा को हो?’
छोराको जिद्धीले आमा न्याय खोज्ने बाटोमा लागिन् । र अहिले २८ वर्षपछि आमाको बलात्कारी पहिचान गरी पक्राउ गरिएको छ ।
नाबालिग ६ महिनादेखि लगातार बलात्कृत
२८ वर्ष पुरानो यो दर्दनाक घटनाकी पीडित अहिले आफ्ना दुई छोरा र बुहारीसँग भाडाको सामान्य घरमा बस्छिन् ।
सन् १९९४ मा उनी १२ वर्षकी मात्र थिइन् । त्यतीबेला बलात्कारको श्रृंखला ६ महिनासम्म चल्यो। बलात्कारका आरोपीहरु नाकी र राजी समयसमयमा घरको पर्खाल नाघेर आउँथे । र बलात्कार गर्थे ।
पछि स्वास्थ्य बिग्रन थालेपछि बहिनीले उनलाई डाक्टरकहाँ लगेकी थिइन् । चेकअप गर्दा उनी गर्भवती भएको थाहा भयो ।
उनी भन्छिन् -‘डाक्टरले मलाई यो कसले गर्यो भनेर सोध्यो। मैले नाम थाहा छैन भनें । तर दुईजना आएर मलाई यस्तो गरेको बताएँ । दिदीले गर्भपतन गराउनुपर्छ भनिन् । तर गर्भपतन हुन सकेन । किनभने म सानै थिएँ । डाक्टरले बच्चाको मृत्यु हुने र गर्भपतन पनि हुन नसक्ने बताए ।’
बलात्कार पीडित युवती र उनको परिवारले आवाज उठाउन चाहन्थे तर २७ वर्षदेखि उनी आतंकमा बाँचिरहेका थिए ।
उनी भन्छिन् -‘उनीहरूले मेरो हृदयमा आतंक बसाएका थिए । उनीहरूले कुटपिट गर्ने, थप्पड लगाउने र धम्की दिने गर्थे । उनीहरूले यति धेरै आतकित पारेकी म अहिलेपनि शाहजहांपुर जान चाहन्न । म डराएकी थिएँ, किनभने उनीहरूले भाउजु र परिवारलाई मार्ने धम्की दिएका थिए । मुख खोल्यो भने घरमा आगो लगाईदिने र सबै आगोमा जलेर मर्ने लगाएतका धम्की दिन्थे । मुख खोल्यो भने गोली हानेर मार्ने सम्म धम्की दिन्थे ।’
प्रहरीमा भर्ती भएर देशको सेवा गर्ने सपना देखेको उनी बताउँछिन् । तर महिनौंसम्म चलेको बलात्कारको घटनापछि उनको सपना सपनामा मात्रै रह्यो ।
उनी भन्छिन् -‘म सानी, दुब्ली, पातली थिए । सात कक्षामा पढ्थें। दिदीसँग बस्न शाहजहांपुर गएँ । मेरो सपना धेरै थियो। ठूलो भएर प्रहरीमा भर्ती हुने मेरो सपना थियो। तर ती दुई व्यक्तिका कारणसबै सपनाहरू टुट्न पुगेका छन्। मेरो स्कुल छुट्यो । पढ्न पनि सकिन।’
आतंकको वातावरण
त्रासको माहोलबाट बच्न आफ्नी बहिनी र भाउजुसँग रामपुरमा बसेको उनी बताउँछिन् । रामपुरमै १३ वर्षको उमेरमा उनले छोरालाई जन्म दिइन्।
उनी भन्छिन् -‘जुन बच्चाको लागि मैले यति धेरै दुःख सहेकी थिएँ। मैले यति धेरै बलात्कार सहें, मैले उसको अनुहार पनि देखिन । जब होश आयो, तब मैले बच्चा कहाँ छ? भनेर सोधें, आमाले भन्नुभयो– अब तिमीले जीवनमा कहिल्यै फेला पार्दैनौं ।’
त्यसपछि सन् २००० मा उनको जीवनमा नयाँ मोड आयो । उनको बिहे भयो । त्यसपछि उनीहरुको अर्को छोरा जन्मियो ।
उनी भन्छिन्- ‘विवाह गरेपछि घर गएँ। मेरो जीवनमा सबै ठीकठाक चलिरहेको थियो। त्यो घटनालाई म पूर्णतया बिर्सन चाहन्थें।’
तर विवाहको ६ वर्षपछि उनको जीवनमा फेरि एकपटक घटेको घटनाले स्तब्ध बनायो ।
उनी भन्छिन् -‘मलाई यस्तो घटना भएको कुरा मेरो श्रीमानलाई कसरी थाहा भयो मलाई थाहा छैन। सबै दोष म माथि थोपरेर श्रीमान् झगडा गर्न थाले । एक दिन मलाई घरबाट निकालियो । र म मेरो दोस्रो सन्तान लिएर बहिनीकहाँ फर्किए ।’
१३ वर्षपछि पहिलो पटक आमा–छोराको भेट
यसैबीच बलात्कारबाट जन्मेको उनको पहिलो छोरालाई कुनै परिवारले धर्मपुत्र लिएको खुलासा भयो । गाउँमा मानिसहरूले यो कुरा थाहा पाए । मुस्लिमको सन्तान हो भन्ने भएपछि मान्छेले यो कस्को रगत हो भन्दै ऊ माथि दुव्र्यवहार गर्न थाले ।
र, एक दिन १३ वर्ष अघि अस्पतालबाट अलग भएका आमा छोराको भेट भयो । बच्चालाई धर्मपुत्रका रुपमा लिएको परिवारले छोरालाई आमाकहाँ फर्काइदियो ।
त्यो क्षण सम्झँदै उनी भन्छिन् -‘जब मेरो छोरो मसँग फर्कियो, मैले उसलाई पहिलो पटक देखेँ। ऊ मसँगै बस्न थाल्यो।’
डिप्रेसनमा रहन्थ्यो छोरो
आमालाई भेटेर पनि छोरा भने निराश र विचलित थियो ।
उनी भन्छिन् -‘त्यो सानो बच्चा निकै डिप्रेसनमा परेको थियो। स्कूलमा केटाकेटीले जिस्काउने गरेकाले उ स्कुल गएन । जसलाई हामीले धर्मपुत्र दियौं, उनीहरू बुबाको नाम दिन तयार थिएनन् । स्कुलमा भर्ना हुँदा बुबाको नाम सोध्थे । हामी दुबै कति संघर्ष र निर्दयतामा बाँचेका छौं भन्न सकिँदैन।’
जब छोरा १३ बर्षको भयो, उसले आफ्नो बुबा को हो भनेर जान्न चाह्यो ।
छोराले सोध्न थाल्यो – ‘म यस संसारमा कसरी आएको हुँ? मलाई यो संसारमा जबरजस्ती ल्याइएको हो? मेरो कोही बाबा छैन, मेरो कुनै पहिचान छैन ? यस्तो पहिचान दिएर के गर्ने ?’
आमा छोरालाई समाजमा उठ्न र बस्न पनि गाह्रो भयो ।
छोराको प्रश्न
छोराले आफ्नो बाबु र अस्तित्वको बारेमा आमालाई बारम्बार प्रश्न गथ्र्यो ।
छोरासँगको झगडाका बारेमा उनी भन्छिन् – ‘छोराले मलाई सधै भन्ने गथ्र्यो। सबैको बुवा हुनुहुन्छ, मेरो बुवा हुनुहुन्न । तपाई मेरी आमा हुनुहुन्छ । तपाईले भन्नुहोस् मेरो नामको पछाडी थर के लाग्छ ?’
छोरा यति डिप्रेसनमा परेको थियो कि, आत्महत्या गर्ने प्रयास समेत गरेको थियो ।
उनी भन्छिन् -‘म उसलाई गाली गर्थें। तर बिस्तारै ठूलो हुँदै गएपछि डिप्रेसनमा जान थाल्यो। उसले भन्थ्यों, म यो जीवन बाँच्न सक्दिनँ। म आत्महत्या गर्छु। तपाई मलाई राम्रोसँग भन्नुहोस्, कुरा के हो? जब उसले आत्महत्या गर्न खोज्यो, हामीले उसलाई बचायौं र सबै घटना सुनायौं।’
सबै कुरा बुझेपछि छोराले भन्यो – ‘यसमा तपाईको कहाँ गल्ती छ ? मेरो गल्ती कहाँ छ ? तपाईले यति वर्षसम्म यही कलंक बोकेर बाँच्नुभयो । यो जसले गरेको हो, उसले सजाय पाउनुपर्छ । हामी किन संसारबाट यसरी टाढिएर बस्ने ?’
छोराबाट प्रोत्साहन
उनी भन्छिन् – ‘छोराले जे भए पनि आमा यो लडाइ लड्नुपर्छ र मैले उसलाई पाठ सिकाउनैपर्छ, भन्यो । उसले अरु कसैलाई पनि त्यस्तै गरेको हुन सक्छ । यदि हामी अगाडि आयौ भने अझै धेरै मानिसहरु अगाडि आउनेछन् । यसले हाम्रो मुद्दा बलियो हुन्छ र उनीहरुलाई सजाय हुन्छ । अपराध गरेपछि कोही पनि बच्न सक्दैन भन्ने सन्देश समाजमा जान्छ ।’
छोराबाट हौसला पाएपछि उनी सन् २०२० देखि शाह जहाँपुर जान थालिन् । तर उनीहरुलाई सजिलो थिएन ।
उनी भन्छिन् – ‘म २०–२५ वर्षपछि रिपोर्ट लेखाउन डराई डराई शाहजहांपुर गएँ । कतै मलाई उनीहरूले फेरि देख्ने हुन् कि भनेर निकै डर पनि लाग्यो ।’
उनी भन्छिन् -‘प्रहरीमा रिपोर्ट लेखाउन खोज्दा भएन । अदालत जानका लागि वकिललाई भेट्दा वकिलले भने, ‘यति पुरानो मुद्दा हो, कसरी खोज्ने ? उक्त बर्ष त्यहाँ बस्ने गरेको कसरी प्रमाणित गर्ने ? मैले त्यतीबेला आफू बसेको घर पनि भेट्टाउन सकिन।’
मुद्दा दायर गर्न सजिलो थिएन
उनी भन्छिन् – ‘आरोपीहरू पनि फेला परेनन्, सबै कुरा बदलिएको थियो। जब हामी एफआईआर दर्ता गर्न बारम्बार जान्थ्यौं, बारम्बार फर्कन्थ्यौं । वकिल भन्थे– यसमा केही प्रमाण छैन, तपाईं फर्कनुहोस । तर, मैले भने– मैले मेरो कदम चालिसकेकी छु र मैले न्याय लिएरै छाड्छु ।’
उनले वकिललाई भनिन् -‘हामी प्रमाण ल्याइदिन्छौँ, हाम्रो मुद्दा लिनुहोस्।’
त्यसपछि उनले अदालतमा निवेदन दिईन् । त्यसपछि शाहजहांपुरको मुख्य न्यायिक मजिस्ट्रेटको आदेशमा मार्च २०२१ मा सदर बजार थानामा एउटा मुद्दा दर्ता गरियो । जसमा हसन उर्फ ब्लेडी ड्राइभर र उनका भाइ गुड्डुलाई आरोपी बनाइएको थियो।
तर पनि २८ वर्ष पुरानो मुद्दामा नयाँ अनुसन्धान थाल्न सजिलो थिएन ।
उनी भन्छिन् -‘प्रहरीले हामीलाई नै आरोपी खोज्न भनेका थिए। त्यसैले हामी आफैं खोज्न गयौं। मैले उसलाई भेट्टाएँ र फोनमा पनि कुरा गरेँ। उसले पनि मलाई चिन्यो। मैले दुवै दाजुभाइसँग कुरा गरेँ। उनीहरूले भन्न थाले– तिमिहरु अझै जिउँदै छौे, मरेका छैनौ ? हामीले भन्यौ– मरेको छैनौ, अब मर्ने पालो तेरो ।’
मुद्दाको बारेमा उनी भन्छिन् -‘सत्य कहिल्यै लुकाउन सकिँदैन । जे सत्य हो, त्यो सधैं अगाडी आएरै छाड्छ र यसैले आज म यो स्थितिमा पुगेकी छु।’
डीएनए परिक्षणबाट अभियुक्त पक्राउ
पुलिस र पीडितले अभियुक्तको खोजी गरे तर उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन डीएनए परीक्षण आवश्यक थियो।
उनी भन्छिन्- ‘एफआइआर दर्ता हुन लागेको बेला मैले प्रहरीलाई सम्पर्क नम्बर दिएँ र त्यसपछि डीएनए परीक्षणको लागि बोलाएँ। पछि नकी हसनको रिपोर्ट पोजेटिभ आयो। यद्यपि यो कसको छोरो हो मलाई थाहा थिएन , किनभने दुबैले बलात्कार गर्थे।’
यस विषयमा शाहजहांपुर एसएसपी एस आनन्दले भने -‘यो मुद्दा एकदमै अप्रत्याशित थियो। जब महिला अगाडि आएरे मुद्दा दायर गरिन् । हामी धेरै छक्क पर्यौं । तर हामीले मौका लियौं । र पहिले छोराको डीएनए परीक्षण सुरु गर्यौं ।’
विगत एक वर्षदेखि उक्त घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने -‘पहिला अभियुक्तलाई सूचना दिएर प्रहरी चौकीमा बोलाइएको थियो, बोलाएपछि उनीहरुको डीएनए नमूना लिइएको थियो । डिएनए म्याचिङका लागि पठाइएको थियो। त्यसैले २०२२ को फेबु्रअरीमा डीएनए परिक्षण गरियो। नमूना मिल्यो । यति पुरानो घटना भएकाले सिधै जेल पठाउन सकिदैनथ्यो। महिलाले मेडिकल गर्न पनि इन्कार गरेकी थिइन्। २०–२५ वर्षपछि मेडिकलमा केही आउँदैन।’
‘उनीहरूले मेरो जीवन बर्बाद गरे’
अन्ततः ३१ जुलाई २०२१ मा प्रहरीले आरोपी राजीलाई पक्राउ गर्यो ।
एसएसपी एस आनन्द भन्छन् – ‘जब राजीलाई पक्राउ गरियो, हामीजस्तै उनी पनि अचम्ममा परेका थिए कि यो पुरानो केस कहाँबाट बाहिर आयो।’
त्यसोभए के उनले अपराध स्वीकार गरे? एसएसपी एस आनन्द भन्छन्, ‘हो ।’
पहिलो पक्राउपछि छोराले आमालाई भने -‘ म धेरै खुसी छु, दोस्रो (नकी) समातिएपछि दोब्बर खुसी हुनेछु।’
हुनसक्छ आगामी दिनमा उनी अदालतमा अभियुक्तसँग अगाडी हुनेछन् ।
उनी भन्छिन् -‘अदालतमा उनीहरू आमनेसामने भए भने मेरो एउटै इच्छा छ, उनीहरू दुवैलाई दुई थप्पड हान्ने । उनीहरूले मेरो जीवन बर्बाद गरे, त्यसको सजाय कम छ । उनीहरुलाई कडा सजाय हुनुपर्छ ।’
यो कुरा मिडियामा कसरी आयो ?
टाइम्स अफ इण्डियाका बरेली संवाददाता कंवरदीप सिंह भन्छन् उनले यस विषयमा २०२१ मा थाहा पाए, जब पुलिसले बलात्कार पीडितको निवेदनमा एफआईआर दर्ता गर्यो।
एक वर्षभन्दा बढी समयदेखि लगातार यस विषयमा रिपोर्टिङ गरिरहेका कंवरदीप भन्छन् -‘ मैले एफआईआर पढ्दा यो गुनासो साँचो लाग्यो। हामी दैनिक जीवनमा धेरै गुनासोहरू देख्छौं। त्यसैले यो देखेर मलाई साँच्चै लाग्यो कि यो वास्तविक हो। त्यसपछि मैले एसएसपी र स्थानीय एसएचओलाई भनें कि यो कुरा वास्तविक जस्तो देखिन्छ।’
कंवरदीप भन्छन् -‘त्यसपछि मैले बलात्कार पीडित र उनको छोरासँग कुरा गरें र हामीले सकेसम्म मिडियामा कभर गरेका थियौं। हामीले देख्यौं कि यस्ता घटनाहरूमा एफआईआर दर्ता हुन्छ भनेर हामीले कल्पना पनि गर्न सक्दैनौं । तर यसमा न्याय छ।’
कन्वरदीप भन्छन् -‘उनलाई न्याय दिलाउनमा उनको छोराको महत्वपूर्ण भूमिका छ । बाँकी हामीले हाम्रो रिपोर्टिङ मात्रै गरिरहेका थियौं । यो भन्दा बढि के गर्न सक्थ्यौं र ?’
परिवार कसरी चलिरहेको छ ?
अहिले गिरफ्तारी भैरहेको छ र न्याय पाउने आशा देखिन्छ । उनी भन्छिन् -‘म काम गर्छु । मेरो छोरो पनि काम गरिरहेको छ । कान्छो छोरा अहिले पढ्दै छ। उसलाई मैले आईएएस बनाउनुपर्छ। जेठाले पढन् पाएन् । किनकी स्कुल जान्थ्यो तर समस्या थियो । उसको परिचय कहाँबाट गराउने ? त्यसैले उसले पढ्न पाएन् । म आफ्नो परिवारसँग खुसी छु । दुवै छोरासँग खुसी छु । एउटा राम्रो परिवार छ । काम गरेपछि घर खर्च चल्छ ।’
उनी भन्छिन् -‘मेरो जेठो छोराले मलाई बाध्यता बनाईदियो कि अपराधीहरुलाई सजाय दिनुपर्छ । मेरो छोराले मलाई धेरै साथ दियो र भन्यो– तपाई लड्नुस, हामी तपाईको साथमा छौं ।’
तर के यो परिवारले त्यो घटना र त्यसले भोगेको वर्षौंको यातनाबाट कहिल्यै मुक्ति पाउन सक्छ?
यसबारे उनी भन्छिन् -‘धेरै पुरानो भइसक्यो, तर उनीहरूले हामीलाई दिएका घाउहरू अझै निको भएका छैनन्। आज पनि हाम्रो जीवन ठप्प भएको छ । र हामी त्यो पललाई बारम्बार सम्झन्छौं । त्यसैले सोच्नुहोस् कि त्यहाँ ब्वाँसाहरू छन् । आफ्नो स्वार्थका लागि बालबालिकाको जीवन बर्बाद गर्छन् । सबैको आफ्नो जीवन छ, सबैलाई भगवानले बाच्ने अधिकार दिएका छन् । त्यसैपनि म दोस्रो पटक अगाडी आएकी छु ताकि जनताले पाठ सिकोस् ।’
उनी भन्छिन् -‘२८ वर्षअघि जब म माथि दुव्र्यवहार भएको थियो । त्यतिबेला मिडिया, मोबाइल केही थिएन । आफैं प्रहरी चौकी जानुपथ्र्यो । अब घरमै बसेर फोन गर्न सकिन्छ।’
उनी आफ्नो संघर्षबाट अन्य महिलाहरूलाई पनि प्रेरित गर्न चाहन्छिन् र भन्छिन् -‘तिमीहरू उनको विरुद्ध लड । उजुरीहरु दर्ता गर। त्यसपछि उनीहरुलाई अरूको आमा दिदीबहिनीसँग यस्तो दुव्र्यवहार गर्ने हिम्मत हुनेछैन् । मानिसहरू चुपचाप बस्छन्। म पनि चुपचाप बसेँ। मैले सोच्थें – सायद भाग्यमा यस्तै लेखेको रहेछ । तर त्यस्तो केही होइन । यदि कसैले जानाजानी यस्तो गर्छ भने भाग्यमा लेखेको हुँदैन । प्रहरीमा जानुपर्छ ताकि उसलाई अरू कसैसँग यस्तो काम गर्ने साहस नआओस् ।’
अन्त्यमा उनी भन्छिन् -‘प्रहरी प्रशासनको पूर्ण सहयोग रहेको छ। एउटा पक्राउ पर्यो, अर्को पक्कै पनि समातिन्छ।’