अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली अघिल्लो महिनाको तुलनामा चारगुणा
प्रकाशित मिति : असार १८, २०७४ आईतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै नेपालीहरुलाई अमेरिकाको विद्यार्थी भिसा अत्यन्तै कम जारी गरिएपनि अहिले भने विद्यार्थी भिसाको दर ह्वात्तै बढेको छ । अघिल्लो महिनाको तुलनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको दर झण्डै चारगुणा बढेको छ ।
अमेरिकी विदेशमन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार मे महिनामा ४५१ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा पाएका छन् भने उनीहरुका २८ जना डिपेन्डेन्टहरुले पनि अमेरिकाको भिसा पाएका छन् । जसमध्ये काठमाडौंमा रहेको दूतावासबाट अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरु ४३६ जना रहेका थिए भने अरु १५ जनाले अरुदेशबाट भिसा पाएका थिए । डिपेन्डेन्ट भिसा पाउनेहरुभने सबै काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा पाउनेहरु हुन् ।
फरबरीमा हरेक दिन औषतमा १ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए । मार्च महिनामा हरेक दिन औषतमा एकदेखि दुईजना नेपालीलेमात्र अमेरिकाको विद्यार्थी भिसा पाएको अप्रिलमा भने औषतमा हरेक दिन ५ देखि ६ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाए । मे मा भने हरेक दिन २० देखि २२ जनासम्म नेपालीहरुले अमेरिकाको भिसा पाए । हरेक दिन झण्डै २ सय जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसाका लागि आवेदन दिने दुतावास श्रोतको भनाई छ ।
ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार अप्रिलमा ११९ जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ११६ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र ३ जनाले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए ।
मार्चमा भने जम्मा ३६ जना नेपालीहरुले विद्यार्थी भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ३१ जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र अन्यले अरुदेशमा रहेका दूतावासबाट विद्यार्थी भिसा प्राप्त गरेका थिए । मार्चमा विद्यार्थी भिसाका ३२ जना नेपाली डिपेन्डेन्टहरुले अमेरिकाको भिसा प्राप्त गरेका थिए । उनीहरुमध्ये ३० जनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट र २ जनाले अरुदेशमा रहेका दूतावासबाट डिपेन्डेन्ट भिसा प्राप्त गरेका थिए । अप्रिलमा भने अमेरिकी भिसा पाउने विद्यार्थी भिसाका डिपेन्डेन्टहरु २७ जना रहेका थिए । उनीहरु सबैले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।
गतबर्ष (आर्थिक बर्ष २०१६) ओबामा कार्यकालमा ६४४० जना नेपालीहरुले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका थिए । गतबर्ष औषतमा हरेक महिना साढे ५ सय नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा प्रदान गरिएको थियो ।