अमेरिकाको जर्जियामा राती २ बजे एक्लै राजमार्गमा हिडेका ७ वर्षीय बालकको गाडीको ठक्करबाट मृत्यु
प्रकाशित मिति : भाद्र २०, २०७९ सोमबार
अमेरिकाको जर्जियाको छ लेनको राजमार्गमा राती २ बजे एक्लै हिड्दै गरेका एकजना ७ वर्षीय बालकलाई गाडीले ठक्कर दिंदा बालकको मृत्यु भएको छ । ठक्करबाट घाइते बालकलाई घटनास्थलमा नै छाडिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार राती एटलान्टाबाट १५ माइल दक्षिणमा रहेको जोन्सबोरोमा घटना भएको हो । बच्चाको पहिचान खुलाइएको छैन र अनुसन्धानकर्ताहरूले कुनै प्रत्यक्षदर्शी फेला नपारेको बताएका छन् ।
सबा २ बजेदेखि साढे २ बजेको बीचमा क्लेटन काउन्टीका पुलिस अधिकारीहरूले हिट एन्ड रनको घटनाबारे थाहा पाएका थिए । घटनास्थलमा आएका प्रहरी अधिकारीहरूले सडकमा मृत बालकलाई भेट्टाएका थिए । ती बालक सात वर्षको भएको पुष्टि भएको छ ।
घटना भएको दिन बच्चा र उनका आमाबाबु नजिकैको म्याग्नोलिया बे होटेल र सुइटमा बसेको जनाइएको छ । अनुसन्धान चलिरहेको छ तर प्रहरीले चालकको पहिचानमा पत्ता लगाएको छैन ।
चालकले राजमार्गमा बच्चालाई ठक्कर दिएको थाहा नपाएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले जनताको सहयोगको लागि अनुरोध गरेको छ ।