नोभेम्बरका लागि थपिएन नेपाली डिभी विजेताको केस नम्बर, १४५० सम्म केस नम्बर हुनेहरुले भिसा पाउनसक्ने


प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार नोभेम्बरका लागि नेपाली डिभी विजेताको केस नम्बर थपिएको छैन । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको छ ।

नोभेम्बरका लागि अन्य देशका सन्दर्भमा पनि केस नम्बर टसमस भएको छैन । एसियामा २८ सयसम्म केस नम्बर भएका डिभी विजेताले भिसा पाउनसक्ने भएकोमा इरानका २५ सय र नेपालका १४५० सम्म केस नम्बर हुनेहरुलेमात्र भिसा पाउन सक्नेछन् ।

अमेरिकी दूतावास काठमाडौं

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् ।

आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ । एसियामा सबैभन्दा धेरै इरानका ५५०६ जनाले डिभी लोटरी पारेका छन् ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

यसैबीच अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले डिभी २०२३ का विजेताहरुलाई केन्टकी सर्भिस सेन्टरमा डीएस २६० फर्ममात्र बुझाउन सुझाव दिएको छ । आफू र परिवारका सदस्यहरुका लागि डीएस २६० फर्म बुझाउन र थप कागजातहरु भिसा अन्तरवार्ताका बेलामा दूतावासमा लैजान सुझाव दिइएको छ ।

डीएस २६० प्राप्त भएपछि केन्टकी सर्भिस सेन्टरले यसको पूर्णताको लागि समीक्षा गरेर त्यो केस भिसा अन्तर्वार्ताको लागि निर्धारित गर्न योग्य भए नभएको ठहर गर्नेछ । आवेदकको भिसा केस नम्बर भिसा बुलेटिनमा करेन्ट भए नभएको आधारमा प्रकृया अगाडि बढाइनेछ ।

डिभी २०२२ का विजेताहरुका लागि लागु हुनेगरी गतबर्षदेखि डीएस २६० का साथमा कागजात पेश गर्न नपर्ने व्यवस्था गरिएकोमा डिभी २०२३ का सन्दर्भमा पनि सोही व्यवस्था जारी राखिने भएको हो ।

थप कागजातहरु दूतावास वा कन्सुलेटमा अन्तरवार्ताका समयमा संकलन गरिने छ । अमेरिकी कानूनले भिसाको योग्यता पूरा गर्नका लागि आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आवश्यक कागजात नबुझाएको खण्डमा दूतावास वा कन्सुलेटले भिसा अस्वीकृत गर्ने जनाइएको छ । कागजातको अभावका कारण भिसा अस्वीकृत भएको अवस्थामा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्नभने सकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । आवश्यक सबै कागजातका साथ अन्तरवार्ताकै समयमा भिसाका लागि योग्यता प्रमाणित गर्न सुझाव दिइएको छ ।

केन्टकी सर्भिस सेन्टरमा कागजात प्रमाणिकरण गर्दा लामो समय लाग्ने भएपछि डिभी विजेताहरुले समयमा भिसा पाउन नसकेको अवस्थामा सबै उपलब्ध डिभी अप्वाइन्टमेन्टहरुको प्रयोग गर्नका लागि नयाँ नियम ल्याइएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com