डिसेम्बरका लागि थपियो डिभी विजेता नेपालीको केस नम्बर, १७ सयसम्मले भिसा पाउनसक्ने


प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार डिसेम्बरका लागि नेपालीहरुको केस नम्बर थपेर १७ सय बनाइएको छ । अर्थात् १७ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु डिसेम्बरमा भिसा पाउन योग्य हुनेछन् ।

नोभेम्बरका लागि भने नेपाली डिभी विजेताको केस नम्बर थपिएको थिएन । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको छ ।

नोभेम्बरका लागि अन्य देशका सन्दर्भमा पनि केस नम्बर टसमस भएको छैन । एसियामा २८ सयसम्म केस नम्बर भएका डिभी विजेताले भिसा पाउनसक्ने भएकोमा इरानका २५ सय र नेपालका १४५० सम्म केस नम्बर हुनेहरुलेमात्र भिसा पाउन सक्नेछन् ।

अमेरिकी दूतावास काठमाडौं

डिसेम्बरका लागि भने एसियामा ३३ सयसम्म केस नम्बर भएका डिभी विजेताले भिसा पाउनसक्ने भएकोमा इरानका ३ हजार र नेपालका १७ सयसम्म केस नम्बर हुनेहरु योग्य हुने भएका हुन् ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गरेका छन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् ।

आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ । एसियामा सबैभन्दा धेरै इरानका ५५०६ जनाले डिभी लोटरी पारेका छन् ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com