सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने जाहेरीकर्ताका दुईवटा जन्मदर्ता भेटिएको दाबी


प्रकाशित मिति : आश्विन २४, २०७९ सोमबार

क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला उनी पक्षधर वकिलहरुले जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको दावी गरेका छन् । कानुन व्यवसायी सुधा रिजालले प्रारम्भिक अनुसन्धानबाट जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको दाबी गर्नुभएको हो ।

दुईवटा जन्मदर्ता भेटिपछि नाबालिग भनिएकी जाहेरीवालाको यकिन उमेरमाथि प्रश्न खडा भएको उहाँका् भनाई छ । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदा सन्दीपले पनि न्यायाधीशसमक्ष जाहेरीकर्ताले आफूसँग उमेर १९ वर्ष भइसकेको बताएको दावी गरेका छन् ।

उनले आफू निर्दोष रहेको गम्भीर षड्यन्त्रको शिकार बनाउन खोजिएको अदालतसमक्ष दावी गरेका छन् । जाहेरीकर्ताकै आग्रहमा आफूहरु घुम्न गएको र आफूले जाहेरीकर्तालाई कुनै खालको जबरजस्ती नगरेको सन्दीपको भनाइ छ ।

कानूनतः १८ वर्षसम्मका किशोरीसँग सहमतिमै यौन सम्बन्ध भए पनि त्यसलाई बलात्कार मानिन्छ । तर १८ वर्षभन्दा माथिको युवतीसँग सहमतिमा भएको यौन सम्बन्धलाई भने कानूनले बलात्कार मान्दैन ।

प्रहरीका अनुसार पीडित भनिएकी जाहेरीकर्ताको उमेर १७ वर्ष रहेको प्राप्त कागजातबाट देखिएको छ । जाहेरीकर्ताले प्रहरीमा बुझाएको नागरिकतामा उनको उमेर १७ वर्ष देखिएको हो ।

जिल्ला अदालत काठमाडौँले लामिछानेलाई सात दिन म्याद थप गरेको छ । अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो ।

प्रहरीले आज लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो । लामिछानेलाई पहिलो पटक म्याद थप गर्न अदालतमा लगिएको हो र दोस्रो म्याद थपका लागि यही असोज २७ गते अदालत पेस गर्नुपर्नेछ ।

लामिछानेलाई नाबालिकामाथि जबरर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com