सुरक्षा रणनीति विज्ञ नयाँ अमेरिकी राजदूत डीन थम्पसन नेपालमा
प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार
नेपालका लागि नयाँ अमेरिकी राजदूत डीन थम्पसन नेपाल पुगेका छन् । उनलाई नेपालमा स्वागत गर्दै अमेरिकी दूतावास काठमाडौंले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा केही समय विताएपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने जनाएको छ ।
उनले सेप्टेम्बरको अन्तिम साता सपथग्रहण गरेका थिए । थम्पसनको नियुक्ती अगस्तमा अमेरिकी सिनेटबाट ध्वनीमतले अनुमोदन भएको थियो ।
जुलाईको तेश्रो साता नियुक्ती प्रस्ताव अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिबाट पारित भएको थियो । थम्पसनको नियुक्तीको प्रस्ताव ह्वाइट हाउसले अप्रिलको पहिलो साता सिनेटमा पठाएको थियो ।
मार्च २९ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा डीन थम्पसनलाई नियुक्तीको प्रस्ताव गरेका थिए ।
२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले यस अगाडि अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरेका छन् । सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुपमा काम गरेका थिए ।
त्यसअघि थम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका थिए । रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका उनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। उनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्।
मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्। उनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए ।
नेपालमा चीनसँगको सम्बन्ध विवादित भइरहँदा अमेरिकाले सुरक्षा मामिलामा दख्खल राख्ने वरिष्ठ कूटनीतिज्ञलाई काठमाडौं पठाएको छ ।
फोटो : अमेरिकी दूतावास काठमाडौं