इराकका नयाँ राष्ट्रपतिमा अब्दुल लतीफ रशीद, संसद बैठक चलिरहँदा ८ वटा रकेट प्रहार


प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार

कुर्दिश नेता अब्दुल लतिफ रसिद इराकको नयाँ राष्ट्रपति हुने भएका छन् । यससँगै मुलुकमा नयाँ सरकार गठन र विगत एक वर्षदेखि जारी गतिरोध अन्त्य गर्ने बाटो खुलेको छ ।

संसदमा बिहीबार भएको दुई चरणको मतदानपछि अब्दुल लतिफ रसिदले १६० भन्दा बढी सांसदको समर्थन जितेका छन् । इराकी संसदमा कुल ३२९ सिट छन्।

रसिदले देशका कार्यवाहक राष्ट्रपति बरहम सालेहलाई पराजित गरेका छन्ज, जसलाई ९९ सांसदको मात्र समर्थन थियो । बरहम सालेह पनि कुर्दिश नेता हुन् ।

७८ वर्षीय राशिद बेलायतमा पढेका इन्जिनियर हुन् । उनले सन् २००३ देखि २०१० सम्म देशको जलस्रोत मन्त्रीको रूपमा काम गरेका थिए। नयाँ सरकार गठनका लागि सांसदहरुको नाम आह्वान गर्न उनीहरुसँग १५ दिनको समय छ ।

बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसदको बैठक चलिरहेका बेला बिहीबार बग्दादको अति सुरक्षित ग्रीन जोनमा आठ वटा रकेट प्रहार भएका थिए ।

इराकी राजधानीको ग्रिन जोन नजिकै संसद्को अधिवेशनका लागि भेला भएका बेला आक्रमण भएको थियो । आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा पाँच जना घाइते भएका छन् ।

इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीले ट्वीटरमार्फत आक्रमणको निन्दा गर्दै लोकतान्त्रिक प्रक्रियामा बाधा हाल्ने कुनै पनि प्रयासलाई स्पष्ट रुपमा अस्वीकार गर्ने बताएका छन्।

उनले राजनीतिक सङ्कट अन्त्यका लागि संवैधानिक समयसीमा पूरा गर्न समर्थन गर्ने बताएका छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

गत महिनाको अन्त्यमा भएको एक घटनामा सांसदहरूले संसदको उपसभामुखको पक्षमा मतदान गर्न लागेका बेला ग्रिन जोनमा रकेट प्रहार गरिएको थियो ।

इराकी धर्मगुरु अल सदरका समर्थकहरूले गत जुन ३० मा संसद्मा धावा बोलेका थिए र अल सुडानीलाई पहिलो पटक मनोनीत गरिएपछि सरकार गठन प्रक्रिया अवरुद्ध पारेका थिए ।

सन् २०२१ को अक्टोबरमा इराकमा भएको चुनावमा अल–सदरको समूहले ७३ सिट जितेको थियो, जसले गर्दा यो ३२९ सदस्यीय संसद्मा सबैभन्दा ठूलो समूह बनेको थियो ।

सन् २०१६ मा पनि अल सदरका समर्थकले संसद् भवनमा आक्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री हैदर अल–अबादीले भ्रष्टाचार विरोधी अभियानमा पार्टीसम्बद्ध मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाउन खोजेपछि उनीहरूले धर्ना दिएका थिए र राजनीतिक सुधारको माग गरेका थिए ।

सन् २०१९ मा भ्रष्टाचार र बेरोजगारीलाई लिएर जनआक्रोशका बीच व्यापक विरोध प्रदर्शन भएको थियो र यो वर्तमान विरोध प्रदर्शन तेलको धनी देशका लागि चुनौती बनेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com