न्युयोर्कको ट्रेनमा गोली चलाएर १५ बर्षीयको हत्या गर्ने १८ बर्षका टीनएजर पक्राउ
प्रकाशित मिति : आश्विन ३०, २०७९ आईतबार
न्युयोर्कको क्वीन्समा ‘ए’ ट्रेनमा गोली प्रहारबाट १५ बर्षीय बालकको हत्या गर्ने १८ बर्षका टीनएजर पक्राउ परेका छन् । १५ वर्षीय जेजोन बर्नेट शुक्रबार मारिएपछि १८ वर्षीय कियोन्द्रे रसेललाई हत्या र आपराधिक हतियार राखेको अभियोगमा पक्राउ गरिएको छ ।
क्वीन्सको सबवे कारमा शुक्रबार दिउँसो भएको गोली प्रहारमा १५ बर्षीय बर्नेटको मृत्यु भएको थियो । दिउसो ३ बजेर ४७ मिनेटमा फार रकवेमा दक्षिणतिर गइरहेको ए ट्रेन चढिरहेका बेला दुई समुहबीच विवाद भएपछि उनीमाथि छातीमा गोली प्रहार भएको थियो ।
छातीमा कम्तीमा एक गोली लागेको थियो । यात्रुहरुले उनलाई फार रकवे मोट एभिन्यू स्टेसनमा ट्रेनबाट बाहिर ल्याएका थिए ।
आपतकालीन कामदारहरूले उनलाई ट्रेनस्टेशमा पुनर्जीवित गर्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।