भारतको एउटा गाउँ जहाँ हरेक साँझ ७ बजे टिभी र मोबाइल बन्द गरिन्छ
प्रकाशित मिति : आश्विन ३०, २०७९ आईतबार
भारत महाराष्ट्रको सांगली जिल्लाको एउटा गाउँ होवडगाउँ । यहाँ हरेक दिन साँझ सात बजे साइरन बज्छ। साइरनको आवाज गाउँलेहरूलाई आफ्नो मोबाइल र टिभी सेटहरू बन्द गर्नका लागि संकेत हो।
डेढ घण्टापछि अर्थात् साढे आठ बजे फेरि पञ्चायतको साइरन बज्छ । त्यतीबेला गाउँलेहरूले लत मानिने मोबाइल र टिभी सेटहरू पुनः सुरु गर्न सक्छन्।
गाउँपालिकाका प्रमुख विजय मोहितेका अनुशार स्वतन्त्रता दिवसको एक दिन अघि अगस्त १४ मा टिभी र मोबाइलको लतलाई रोक्न यस्तो निर्णय गरिएको थियो ।
त्यसपछि गाउँमा साइरन बज्ने वित्तिकै टेलिभिजन सेट र मोवाइल बन्द हुन थाले । वडगाउँको जनसंख्या करिब तीन हजार छ। गाउँका अधिकांश मानिसहरु कृषि पेशामा आबद्ध छन् वा चिनी मिलमा काम गर्छन् ।
कोरोना महामारीको समयमा बालबालिकाहरु टिभी र अनलाइन कक्षाका लागि मोबाइल फोनमा निर्भर थिए । यस वर्ष विद्यालय खुलेपछि बालबालिका विद्यालय जान थालेका छन् ।
बालबालिका नियमित कक्षामा जान थालेपनि ठूलो समस्या भयो। विद्यालयबाट फर्केपछि या त मोबाइल लिएर बस्ने कि टिभी हेर्न थाल्ने गर्न थाले । बालबालिका मात्र होइन, ठूलाहरू पनि मोबाइलमा व्यस्त हुन थाले। उनीहरुबीचको अन्तरंग कुराकानी पनि टुंगिएको थियो ।
गाउँमा बस्ने वन्दना मोहितेले आफ्ना दुई छोराछोरीलाई सम्हाल्न गाह्रो भएको बताइन् । दुबै बच्चाहरू या त पूर्ण रूपमा फोनमा व्यस्त रहने वा टिभी हेर्ने गरेको उनले बताइन् ।
तर गाउँमा नयाँ नियम लागु भएपछि श्रीमानलाई कामबाट फर्केर छोराछोरीलाई पढाउन सजिलो भएको छ। अब उनी पनि भान्साकोठामा आरामसँग काम गर्न सक्छिन् ।
गाउँलेहरूलाई मोबाइल र टिभी सेट अर्थात् डिजिटल डिटक्सका लागि तयार गर्न पञ्चायतलाई त्यति सजिलो थिएन। पञ्चायतले पहिलोपटक गाउँलेहरुका अगाडि यो आइडिया राखेपछि धेरै हाँसेका थिए ।
त्यसपछि पञ्चायतका मानिसहरूले गाउँका महिलाहरूलाई भेला गरे। यो क्रम जारी रह्यो भने धेरै टिभी सिरियल हेर्ने लत लाग्न सक्छ भन्ने महिलाहरुको विश्वास थियो ।
गाउँभरीले केही घण्टाको लागि मोबाइल र टिभी सेट अफ गर्नुपर्छ भन्ने कुरामा उनीहरु सहमत भए । त्यसपछि पञ्चायतको अर्को बैठक बसेर गाउँमा साइरन बजाउने निर्णय भयो ।
साइरन बज्ने वित्तिकै पञ्चायतका सदस्य र गाउँलेहरूको समूहले मोबाइल र टिभी बन्द गराउन गाउँगाउँमा घुम्नुपरेको थियो।