शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा


प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

“शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा एक सय तीन वर्षको उमेरमा निधन भएको हो । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुभएको थियो ।

जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

dav

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उहाँको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषय समेटिएका छन् ।

उहाँका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उहाँले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेख्नुभएको छ । समालोचकले उहाँले ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उहाँका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीर अङ्कित चाँदीको सिक्का निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ ।

काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुभएका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो । नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जान्नुभएको थिएन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com