अवैध आप्रवासन रोक्न नसकेको भन्दै भारतीय मूलकी बेलायती गृहमन्त्रीबाट राजीनामा
प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार
बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले आफ्नो पदबाट राजीनामा दिएकी छन् । भारतीय मूलकी सुएला ब्रेभरम्यानलाई सेप्टेम्बरमा प्रधानमन्त्री लिज ट्रसले गृहमन्त्री बनाएकी थिइन् ।
लिज ट्रस र उनबीच आज दिउँसो संसदमा भेट भएको थियो । आफ्नो राजीनामा पत्रमा उनले बेलायत कठिन समयबाट गुज्रिरहेको तथा सरकार जुन दिशातिर जाँदैछ त्यसबारेमा आफू चिन्तित भएको बताएकी छिन् ।
आफ्ना मतदातासँग गरेका वाचा तोडेकोमात्र नभई यो सरकार आफ्नो घोषणापत्रमा गरेका वाचाप्रति पनि प्रतिबद्ध नरहेको उनको भनाई छ । घोषणापत्रमा आप्रवासन घटाउने भनिएको र त्यस अनुशार जलमार्गबाट गैरकानुनी रूपमा देश भित्रिने अवैध आप्रवासनलाई रोक्नुपर्ने उनको भनाई छ ।
सुएला ब्रेभरम्यानले गृह मन्त्रालयमा काम गर्न पाउनु आफ्नो लागि ठूलो सम्मान भएको बताइन् । उनले बेलायतका जनताका प्राथमिकताहरू पूरा गर्ने सन्दर्भमा अझै धेरै गर्न बाँकी रहेको आफूले बुझेको उनले बताइन् । उनले विशेषगरी सीमामा खटिने प्रहरी र महिलालाई धन्यवाद दिएकी छिन् ।
यसैबीच, बेलायतमा लिज ट्रसको प्रधानमन्त्रीको निरन्तरताको अड्कलबाजी बढ्दै गएको छ । सोमबार क्वाजी क्वार्टेङले अर्थमन्त्रीको पदबाट राजीनामा दिएपछि जेरेमी हन्टलाई नयाँ अर्थमन्त्री बनाइएको छ ।
लिज ट्रसले प्रधानमन्त्रीका लागि उनको चुनावी अभियानमा अर्थतन्त्रलाई ट्र्याकमा फर्काउने र कर कटौती गर्ने वाचाहरूबाट अब यूटर्न लिइरहेकी छिन्।
अर्थमन्त्रीका रूपमा क्वाजी क्वार्टेङले गरेका निर्णयलाई नयाँ अर्थमन्त्रीले उल्टाएका छन् । देशमा चर्को विरोधका बीच कन्जरभेटिभ पार्टीमा पनि लिज ट्रसको विरोध सुरु भएको छ ।