पृथ्वीबाटै युक्रेनको नामोनिशान मेट्नुपर्ने चेचेन कमाण्डरको सुझाव


प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले कब्जा गरेका युक्रेनका चार भूभागमा सैनिक शासन लागू गरेका छन् । यी क्षेत्रहरूमा सैनिक शासन लागू गर्ने पहिलो सुझाव चेचन्याका कमाण्डर रमजान कादिरोभले दिएका थिए। कादिरोभले पुटिनलाई युक्रेनी नियन्त्रित क्षेत्रमा सैनिक शासन लागू गर्न र कम क्षमताको आणविक बम प्रयोग गर्न आग्रह गरेका थिए।

चेचेन कमाण्डरको सल्लाहको १८ दिनपछि पुटिनले ४ क्षेत्रमा थप सेनाका अधिकारी पठाएका छन् । पुटिनको यो निर्णयपछि रमजान कादिरोभले रुसी सरकारलाई धन्यवाद दिएका छन् । उनले रुसमाथि एउटामात्र गोली चल्यो भने पनि युक्रेनी केन्द्रहरूमा हमला गर्नुपर्ने र पृथ्वीबाटै युक्रेनको नामोनिशान मेटाउनुपर्ने बताएका छन् । कादिरोभलाई पुटिनका सबैभन्दा ठूला समर्थक हुन् ।

कादिरोभले रुसका चार नयाँ क्षेत्रहरूमा सैनिक शासनको निर्णयलाई पूर्ण रूपमा समर्थन गर्ने बताएका छन् । युक्रेन युद्धमा रुसलाई सहयोग गर्न आफ्नो मिलिशिया तैनाथ गर्ने पहिलो व्यक्ति कादिरोभ थिए। उनका लडाकुहरूले युक्रेनी नागरिकहरू विरुद्ध क्रूरताको सबै सीमा पार गरेका छन् । कादिरोव आफैंले खेरसोन गएर आफ्ना सैनिकहरूलाई प्रोत्साहन दिएका थिए । अहिले उनका लडाकुहरु रुसको तर्फबाट युद्ध लड्न युद्धक्षेत्रमा पुगेका छन् ।

रूसमा सैनिक शासनको कानून सन् २००२ मा बनाइएको थियो । तर पुटिनले यसलाई कहिल्यै प्रयोग गरेका थिएनन्। यो तब मात्र प्रयोग गर्न सकिन्छ जब रूसले आक्रामकता वा आक्रामकताको तत्काल खतरा सामना गरिरहेको हुन्छ । पुटिनले युक्रेनका चार क्षेत्रलाई रुसको हिस्सा घोषणा गरेका छन् । यस्तो अवस्थामा पुटिनले युक्रेनी क्षेत्रहरूलाई रुसको हिस्साको रूपमा व्याख्या गर्दै यस आधारमा यो कानून लागू गरेका छन्।

युक्रेनी सेनाले ती चार क्षेत्रमा आफ्नो नियन्त्रण फर्काउन खोजिरहँदा पुटिनले सैनिक शासन लगाएर यो रुसी भूमिमाथि आक्रमण भएको र त्यसलाई पूर्ण शक्तिका साथ सामना गरिने चेतावनी दिएका छन् ।

सैनिक शासन मार्फत रूसले युक्रेनको यी चार क्षेत्रमा ठूलो संख्यामा सेना तैनाथ गर्न सक्छ। यद्यपी रुसले यी क्षेत्रमा पहिले नै ठूलो संख्यामा सेना तैनाथ गरिसकेको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com