अमेरिकामा ३ महिना नर्सिङ पेशामा रहँदाको अनुभव र नेपालमा सिक्नुपर्ने कुरा


प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार

– विजया देउजा

नेपालमा झण्डै एक दशक नर्सिङ पेशामा सेवा गरेर आफ्नो पेशामा अझ बढी दक्षता, ज्ञान र सिपलाई निखार्ने र अझै उज्ज्वल भविष्यको सपना बोकेर म ६ महिना अघि अमेरिका आएँ । अमेरिकाको रजिष्टर्ड नर्स भएर म नयाँ परिवेशमा झण्डै तीन महिनादेखि यो पेशामा भिज्दै छु ।

अमेरिकामा काम गर्ने क्रममा मेरो मनमा छोएको केही प्रशंग सेयर नगरी बस्नै सकिन । यहाँ प्रस्तुत पात्र मारिया र कोठा नम्बर काल्पानिक भएपनि बिरामीको गोपनियताको उच्च सम्मान गर्दै तथ्यपरक घटनामा आधारित अनुभव बाँड्न चाहन्छु ।

अमेरिकाको प्रणाली अनुसार एउटा सिफ्टमा जनरल वार्डमा एक जना नर्सले ५ ६ जना बिरामीको पूर्णरुपमा हेरचाह गर्नुपर्ने हुन्छ । एकदिन सधै झैं ५ जना विरामी मलाई हेरचाहको जिम्मा दिइयो ।

त्यो दिन म अलि व्यस्त नै थिए । कोठा नम्बर १०१ मा मारिया नामकी बिरामी थिइन्, जो क्यान्सरको अन्तिम अवस्थामा पालियटिभ हेरचाह पाइरहेकी थिइन् । दुखाइ कम गर्न बिरामीलाइ दिइने उपचार मार्फत उपचाररत थिइन् । करिब १० मिनेट अघि म मारियाको कोठामा पुगेर उनको हेरचाह गरिसकेकी थिएँ ।

अचानक अर्को कोठाको बिरामीको लागि ल्यावबाट महत्वपूर्ण कल आयो । क्रिटिकल ल्याव रिपोर्ट भएकाले मैले त्यो कल उठाउनै पर्ने हुन्थ्यो । र १५ मिनेट भित्रमा सम्बन्धित डाक्टरलाई रिपोर्ट दिनुपर्ने नीति थियो । त्यसैले म मेरो स्टेशनको कम्प्युटरबाट गोप्य र सुरक्षित च्याट मार्फत डाक्टरलाई ल्याब रिपोर्टबारे रिपोर्टिङ गर्दै थिएँ ।

त्यही बेला ओङ्कोलोजिस्टको ठुलो टिम मारियाको कोठामा छिरेर उनको अवस्थाबारे बुझ्ने काम भयो । उक्त रोगको प्रकृति अनुशार मारियालाई निकै नै पिडा हुन्थ्यो । साथै उनी अन्य धेरै स्वास्थ्य समस्याहरुबाट ग्रसित थिइन् । त्यसपछि एक जना महिला डाक्टर म काम गरिरहेको स्टेशन अघि आएर मलाई सोध्नुभयो – ‘के तपाई मारियालाइ हेरचाह गर्ने नर्स हुनुहुन्छ ?’

डाक्टरको प्रश्नले मेरो मनमा डर र कौतुहलता छायो । मैले तुरुन्तै जवाफ दिएँ – ‘हो मारिया मेरै बिरामी हुन्।’

त्यसपछि डाक्टरले मलाई एकपटक बिरामीको कोठामा आउन भन्नुभयो । त्यसपछि हामी दुबै जना बिरामीको कोठामा गयौं । मेरो मनमा कतै मैले कुनै गल्ती त गरिन भन्ने डरले सताइरहेको थियो। ‘कतै बिरामीलाइ केहि त भएन ?’ यस्तै सोच्दै हामी बिरामीको सामु पुगिसकेका थियौं।

विरामीको वरपर चिकित्सकको ठुलो टोली थियो। पीसीए पम्पको औषधि सकिएर मेसिन बिपिङ भइरहेको रहेछ । मारिया पनि पीडाले निकै छटपटाउदै रोइरहेकी थिइन् ।

म भित्र भित्रै निकै आत्तिएकी थिएँ । पीसीए पम्पको औषधी सकिएर पनि बिरामी रुँदासमेत केही नगरेको भनेर डाक्टरको टिमले मलाई गाली गर्ने त होइन ? कतै मलाई बिरामीको अगाडि अपमानित गरिने त होइन ? मेरो मनमा यस्तै कुरा खेलिरहेको थियो ।

डाक्टरले मलाई पुलुक्क हेरेर बिरामीलाई अहिले एकदम दुखेको रवाकवाकी पनि धेरै भएको जानकारी दिदै दुखाई कम हुने र वाकवाक रोक्ने इन्जेक्सन दिन भन्नुभयो । मैले मेरो स्टेशनको कम्प्युटरमा अर्डर कन्फर्म गरिहालें । त्यसपछि डाक्टरको टिम अघि मारियालाई दुइटा इन्जेक्शन दिएँ ।

आज मैले डाक्टरबाट गाली खाने त होइन ? मेरो इन्चार्जलाई कतै कम्प्लेन गर्दिने त होइन ? मैले अनुशासनको कारवाही भोग्नुपर्ने त होइन ? मेरो मनमा यस्तै त्रासले पिरोलेको थियो ।

बिरामीसँग एकछिन कुराकानी गरिसकेपछि डाक्टरको टिम बिरामीको गोठाबाट निस्कदै थियो । म बिरामीको छेउमा आइभी फ्लस गर्दै थिएँ । डाक्टरले मतिर हेरेर मुसुक्क हाँस्दै भन्नुभयो – ‘वेल डन । यु ह्ययाव डन गुड जब । आइ अप्प्रिसिय्यट इट । ह्याब अ ब्लेस्ड डे अहेड ।’

मैले तुरुन्तै धन्यवाद दिएँ । मैले एक छिन त विस्वास नै गर्न सकिन किनकि मैले कल्पना नै नगरेको शब्दहरु डाक्टरको टिमबाट पाएँ । जसमा गाही होइन, प्रशंशा थियो । ती शब्दहरु मेरो लागि प्रेरणा थिए । साच्चै नै मनमा छुट्टै आनन्द आयो । र अझै समर्पित भएर काम गर्ने नयाँ जोश र उत्साह छायो ।

वास्तवमा नेपाल र अमेरिकामा नर्सिङ पेशामा धेरै नै अन्तर रहेछ। एउटा कर्मचारीले अर्को व्यक्तिलाई गर्नुपर्ने राम्रो व्यवहार, सम्मान, मिठो बोली, इज्जत अनि सहयोगको भावना देखेर म निकै प्रभावित भएँ ।

त्यस्तै एकदिन मेरो १२ घन्टाको काम सकिनै लागेको थियो।त्यही बेलामा मैले एउटा नयाँ बिरामीको भर्ना गर्नु पर्ने भयो । तर म निकै नै व्यस्त थिएँ । मेरो व्यस्तता देखेर मेरो यूनिटको चार्ज नर्सले नयाँ बिरामीको भर्नाको काम सहित बिरामीको सम्पूर्ण हेरचाहका लागि मलाई सहयोग गर्नुभयो।

मैले मेरो चार्ज नर्सलाई सिफ्टको अन्तिममा मेरो बिरामीको भर्ना गर्न र हेरचाह गर्न सहयोग गर्नु भएकोमा धेरै धन्यवाद दिदै आभार ब्यक्त गरें। उहाले भन्नुभयो – ‘हामी सबै जना बराबर छौ । त्यसैले सबैको जिम्मेवारी बराबर हुन्छ। हामी समुहको हिस्सा हौं । त्यसैले सबैले मिलेर काम गर्नुपर्छ ।’

उहाँको भनाई सुनेर म निकै प्रभावित भएँ । अमेरिकामा कार्यशैली र मानिसहरुमा काम प्रतिको सकारात्मक सोच एवं एक अर्काप्रति गरिने सम्मान अनि सहयोगको भावनाले म प्रभावित भएँ ।

कुनै पनि काम सानो र ठुलो नहुने र एकले अर्कालाई प्रशंशा गर्ने र धन्यबाद दिने संस्कृतिको विकाश नेपालमा पनि हरेक क्षेत्रमा हुन जरुरी छ । बिशेष गरी स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा त झन् एकअर्का प्रति सद्भाव, सहयोग र हौसला बढाउने वातावरण अपरिहार्य देखिन्छ ।

नेपाल सम्भावना नै सम्भावना बोकेको देश हो। त्यसैले विकशित राष्ट्रको राम्रो कुरालाई अबलम्बन गरी विकाश र समृद्धि तर्फ देश अग्रशर भएको हेर्ने म लगायत विदेशीएका लाखौं नेपालीहरुको ठुलो सपना छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com