नेपाली सेनाले राष्ट्रसंघ मार्फत विभिन्न शान्ति मिसनमा दिएको योगदानको उच्च प्रशंसा


प्रकाशित मिति : कार्तिक ६, २०७९ आईतबार

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा दिएको योगदानबारे छलफल भयो । उहाँहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा जनरल डोयपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही दिएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसङ्घबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रुपमा प्रभावकारी ढङ्गबाट शान्ति मिसनहरुमा खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुईदिने विशेष कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो । राष्ट्रसङ्घका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा दिएको  योगदानको अन्तर्राष्ट्रियजगत्बाट उच्च मूल्याङ्कन हुने सेनाले विश्वास लिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com