पोर्चुगलमा १२५ युरोको राहत चेक वितरण धमाधम, सोमबारसम्म सबैले पाइसक्ने
प्रकाशित मिति : कार्तिक ९, २०७९ बुधबार
पोर्चुगलमा मासिक २७ सय युरोभन्दा कम आम्दानी हुनेहरुलाई १२५ युरोको चेक पठाउन सुरु गरिएको छ । जीवन यापनको बढ्दो लागतको प्रभावलाई कम गर्न मद्दत गर्न राहत चेक वितरण सुरु गरिएको हो । पेन्सन पाउनेहरुबाहेक सबै करदाताहरुलाई यो राहत चेक पठाउन सुरु गरिएको छ ।
यो राहत चेक कर अधिकारीहरूलाई प्रदान गरिएको आईबीएएनमार्फत बैंकमा सिधा डिपोजिट गर्न सुरु गरिएको छ । सिधै बैंकमा राहत चेक नपाएकाहरुले अनलाइनमा गएर आईबीएएन सुनिश्चित गर्न तथा आवश्यक भएमा आफ्नो बैंक खाता नम्बर दर्ता र अपडेट गर्न सक्नेछन् । आईबीएन निश्चित भइसकेपछि भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
अनलाइनमा आफ्नो आईबीएएन सुनिश्चित गर्न र रकम पाउन यहाँ क्लीक गर्नुहोला ।
सेप्टेम्बरको सुरुमा सरकारले घोषणा गरेको २ दशमलव ४ बिलियन युरोको परिवारहरूको लागि राहत प्याकेजमा अन्तरगत राहत चेक पठाउन सुरु गरिएको हो । बार्षिक ३७ हजार ८ सय युरोभन्दा कम आम्दानी भएका अर्थात् मासिक २७ सय युरोभन्दा कम आम्दानी भएकहरु पारिवारिक अवस्था जस्तो सुकै भएतापनि यो राहतचेकका लागि योग्य भएका छन् ।
साथै सरकारले २४ वर्षभन्दा कम उमेरका प्रत्येक आश्रितलाई ५० युरोको असाधारण सहयोग पनि उपलब्ध गराएको छ । अपांगता भएकाहरुका सन्दर्भमा भने जतिसुकै उमेरका आश्रितले पनि यो रकम पाउनेछन् । दुई सन्तान भएको दम्पतीको हकमा र दुबैको व्यक्तिगत आम्दानी प्रति महिना २,७०० युरो भन्दा कम छ भने उनीहरूले ३५० युरोको राहत चेक पाउनेछन् ।
विहिबारदेखि सुरु हुनेगरी हरेक दिन ५ लाख जनाका दरले राहत रकम पठाउन सुरु गरिएको हो । राहत रकम पठाउने काम सोमबारसम्म पूरा हुने अपेक्षा गरिएको छ । पोर्चुगलमा रहेका करदाता नेपालीहरुले आफ्नो खातामा रकम आइसकेको बताएका छन् ।