भिजिटर र विद्यार्थी भिसामा अमेरिका आएका कति नेपालीहरु ओभरस्टे हुन्छन् ?


प्रकाशित मिति : कार्तिक १२, २०७९ शनिबार

आर्थिक बर्ष २०२० मा अमेरिकामा भिजिटर भिसामा गएका  १२६१ जना नेपालीहरु ओभरस्टे भएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार ७१७ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसेका थिए भने ५४४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए । अन्य या त समयमै अमेरिकाबाट नेपाल फर्केका थिए, या त अमेरिकामा नै अन्य स्टाटसमा अध्यागमन स्थीति समायोजनका लागि आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०२० मा भिजिटर भिसामा गएका २७ हजार ७ सय १२ जना नेपालीहरुले अमेरिका छाड्नुपर्ने थियो । खासगरी उनीहरु आर्थिक बर्ष २०२० भन्दा अगाडि अमेरिका गएका, पहिले नै गएर भिसा थपेर बसेका वा आर्थिक बर्ष २०२० को पहिलो ६ महिनामा अमेरिका गएकाहरु हुन् । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ४ दशमलव ५५ प्रतिशत रहेको छ भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ५९ प्रतिशत रहेको छ ।

अघिल्लो बर्षको तुलनामा महामारीको पहिलो बर्ष अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको संख्या र प्रतिशत दुबै बढी छ । आर्थिक बर्ष २०१९ मा २७ हजार ९६ नेपालीले अमेरिका छाड्नुपर्ने थियो तर उनीहरुमध्ये ६७४ जना अमेरिकाभित्रै ओभरस्टे भए भने २४२ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे । भिजिटर भिसामा गएर कुल ओभरस्टे हुनेहरुको संख्या ९१६ र प्रतिशत ३ दशमलव ३८ रहेको थियो ।

आर्थिक बर्ष २०१८ मा भिजिटर भिसामा अमेरिका गएका २७ हजार २ सय ५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ९७० जना अमेरिकाभित्रै ओभरस्टे भए भने २१५ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । भिजिटर भिसामा गएर कुल ओभरस्टे हुनेहरुको संख्या ११८५ र प्रतिशत ४ दशमलव ६३ रहेको थियो ।

५ बर्षमा ४८५१ नेपाली विद्यार्थी ओभरस्टे

पछिल्लो तथ्यांक अनुशार अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या भने घटेको छ । आर्थिक बर्ष २०२० को तथ्यांक हेर्दा अमेरिकामा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १० दशमलव शुन्य ८ प्रतिशत रहको छ । आर्थिक बर्ष २०२० मा अमेरिकाबाट ४९४२ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ४९८ जना ओभरस्टे भए । ५३ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे भने ४४५ जना अमेरिकाभित्रै ओभरस्टे भए । २०२० मा अमेरिकाभित्रै ओभरस्टे हुने नेपाली विद्यार्थीहरु ९ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा २०२० मा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या प्रतिशत र संख्या दुबैमा कम रहेको छ । त्यस्तै अमेरिकाभित्रै ओरभस्टे हुने नेपाली विद्यार्थीहरुको संख्या र प्रतिशतपनि अघिल्लो बर्षको तुलनामा घटेको छ । आर्थिक बर्ष २०१९ मा भने ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर १३ दशमलव ४३ प्रतिशत रहेको थियो । कतिपय ओभरस्टे भएपछि फर्केका थिए भने अमेरिकामा नै ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ११ दशमलव ४३ प्रतिशत रहेको थियो ।

२०१९ मा एफ, एम र जे भिसामा रहेका ५ हजार १ सय ८८ जना नेपाली विद्यार्थीहरुले अमेरिका छाड्नुपर्ने भएतापनि यी भिसामा हुने ६९७ जना नेपालीहरु ओभरस्टे भएका थिए । १०४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए भने ५९३ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकामा नै बसेका थिए ।

तर आर्थिक बर्ष सन् २०१८ को नेपाली विद्यार्थीहरुको तथ्यांक भने खराब रहेको थियो । आर्थिक बर्ष २०१८ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ३८ दशमलव ४ प्रतिशत रहेको थियो ।

कुल ओभरस्टे हुने नेपाली विद्यार्थीहरु ३८ दशमलव ४ प्रतिशत रहेपनि अमेरिकाभित्रै ओभरस्टे हुने नेपाली विद्यार्थीहरु आर्थिक बर्ष २०१८ मा ३६ दशमलव २८ प्रतिशत रहेका थिए । आर्थिक बर्ष २०१८ मा ५ हजार ६ सय २३ नेपाली नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा २१ सय ३९ जना अमेरिकामा नै ओभरस्टे भएका थिए । ९९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेपनि २ हजार ४० जना भने अमेरिकाभित्रै ओभरस्टे भएका थिए ।

आर्थिक बर्ष २०१७ मा जम्मा २२ दशमलव २२ प्रतिशत नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएका थिए । ३५५६ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७ सय ९० जना नेपाली विद्यार्थीमात्र ओभरस्टे भएका थिए । जसमध्ये अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ७ सय १२ जना र ७८ जना ओभरस्टे भइसकेपछि अमेरिका छाड्नेहरु थिए ।

आर्थिक बर्ष २०१६ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरु जम्मा २५ दशमलव ३१ प्रतिशतमात्र रहेका थिए । यो बर्ष २८ सय ७३ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७२७ जना अमेरिकामा ओभरस्टे भएका थिए ।

यसरी हेर्दा ५ बर्षको अवधिमा ४८५१ जना नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएको देखिएको छ । ओभरस्टे हुनेहरुको तुलनामा ओभरस्टे भइसकेपछि अमेरिका छाड्ने नेपाली विद्यार्थीहरुको संख्या निकै कम रहको छ । ओभरस्टे हुनेहरुबाहेक अन्य विद्यार्थीहरु या त समयमै नेपाल फर्केका थिए, या त अमेरिकामा भिसा थप्ने वा स्टाटस एड्जस्ट गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com