गुजरात : मोरबीमा नदीमाथिको झोलुङ्गे पुल भत्किँदा कम्तीमा ६० जनाको मृत्यु
प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार
गुजरातको मोरबीमा माच्छु नदीमा रहेको झोलुङ्गे पुल आइतबार भत्किएको छ । अहिलेसम्म कम्तिमा ६० जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री राहत कोषबाट मृतकका आफन्तलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ । १५ मिनेटमै ५० भन्दा बढी एम्बुलेन्स घटनास्थल पुगेका थिए ।
अर्कोतर्फ गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई ४ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
करिब एक शताब्दी पुरानो यो पुल पछिल्लो समय मर्मतपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।
अधिकारीका अनुसार मोरबीमा पुल भत्किँदा दुर्घटनामा परी मृत्यु भएका परिवारका लागि जिल्ला प्रकोप नियन्त्रण कक्षको हेल्पलाइन नम्बर जारी गरिएको छ ।
यस हेल्पलाइन नम्बर ०२८२२ २४३३०० मा अझै बेपत्ता भएका परिवारको जानकारी पाउन सकिने अधिकारीहरूले बताएका छन् ।
दीपावलीको बिदा र आइतबारका कारण पुलमा मानिसको बाक्लो भीड थियो । तर, यो शताब्दी पुरानो पुल के कारणले ढल्यो भन्ने कारण भने खुल्न सकेको छैन ।
पुल भत्किनुको कारणबारे अनुसन्धान गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ । रिपोर्टका अनुसार पुल भत्किँदा करिब ४ सय मानिस त्यहाँ थिए ।