अमेरिकामा ३८ वर्ष जेल बसेपछि निर्दोष ठहर भए मोरिस
प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार
अमेरिकामा ३८ बर्ष जेलमा बसिसकेपछि एक व्यक्ति निर्दोष सावित भएपछि जेलबाट रिहा गरिएको छ । डीएनए परीक्षण गर्दा अर्कै व्यक्ति दोषी देखिएका हुन् ।
सन् १९८३मा भएको एक हत्या आरोपमा मोरिस हेस्टिङ्सले ३८ वर्ष कारागारमा बिताएका थिए । उनीमाथि क्यालिफोर्नियामा रोबेर्टा वाइडमायरको हत्या गरेको र अन्य दुई हत्या प्रयासमा संलग्न भएको आरोप लगाइएको थियो ।
डीएनए परीक्षणले हत्यामा अर्कै व्यक्ति संलग्न भएकोमात्र देखाएन, संलग्न व्यक्तिको सन् २०२० मा जेलमै मृत्यु भएको समेत पुष्टी भयो । त्यसपछि उनलाई दोषी ठहर गर्ने सन् १९८८ को अदालतको निर्णय खारेज भएको छ । ६९ वर्षका हेस्टिङ्स गतसाता जेलबाट छुटेका छन्।
रोबेर्टाको शव सन् १९८३ मा टाउकोमा एउटा गोलीको चोट सहित कारको पछिल्लो भागमा रहने डिकीमा भेटिएको थियो। त्यसअघि उनीमाथि यौन हिंसा भएको थियो। त्यसपछि हेस्टिङ्समाथि हत्या अभियोगमा मुद्दा चलाइएको थियो र वकिलहरूले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।
पछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। घटनापछि पक्राउ परेका हेस्टिङ्सले आफू निर्दोष भएको बताउँदै आएका थिए। सन् २००० मा उनले डीएनए परीक्षणका लागि गरेको आग्रह सरकारी वकिलले अस्वीकार गरेका थिए।
उनले सन् २०२१ मा आफू निर्दोष भएको दाबी गर्न सफल भए। गत जुनमा गरिएको उनको डीएनए परीक्षणमा मृतकको शवमा भेटिएको वीर्य उनको नभएको पत्ता लागेको थियो ।
बरु त्यो डीएनए नमुना शसस्त्र हतियार सहित अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका अर्का व्यक्तिसँग मिलेको थियो । उनले पनि आफूले अपहरण गरेका व्यक्तिलाई कारको डिकीमा राखेका थिए।
रिहा भएपछि हेस्टिङ्सले आफू कसैलाई औँला उठाउने पक्षमा नरहेको बताएका छन् । आफू कसैप्रति रिस पोख्ने पक्षमा नभएको बरु जीवनको आनन्द लिन चाहने उनले बताए ।