‘बगान’मार्फत निर्देशनमा खनाल, पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश


प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार

अभिनेता सरोज खनालले निर्देशक बन्नुभएको छ । हालै काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ शीर्ष गीत ‘उडी छुनु छ आकाश’को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरिएको थियो ।

गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र वानिका प्रधानकोस्वर रहेको छ ।

अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की लगायतको अभिनय रहेको फिल्ममा स्वयम् निर्देशक खनालले समेत अभिनय गर्नुभएको छ । चलचित्रमा करिश्मा मानन्धर आमाको भूमिकामा र प्रमिला कार्की छोरीको चरित्रमा रहेको जनाइएको छ । चलचित्रमा करिश्माका पति विनोद मानन्धर कार्यकारी निर्माता  र  सुरेश वाग्ले निर्माता हुनुहुन्छ ।

सयभन्दा बढी फिल्ममा अभिनय गरिसक्नु भए तापनि निर्माण तथा निर्देशनमा भने अभिनेता खनाल जोडिनु भएको थिएन् । पटकथासमेत स्वयम्ले लेख्नुभएको फिल्मको कथा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराउनुभएको कथा सङ्ग्रहबाट ‘बगान’ बाट तयार गरिएको उहाँले जानकारी दिनुभयो । “पुस्तक पढ्ने क्रममा म स्वप्न नीरवजीको कथामा अड्किएँ ।

उहाँले छाड्नु भएको प्रश्नको जवाफ हामीले दिनैपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले पत्रकार सम्मेलनमा भन्नुभयो,“लेखकले आफ्नो दायित्व पूरा गर्नुभयो । उहाँले उठाएको मुद्दालाई अन्य व्यक्तिले समाजमा उजागर गर्नुपर्छ भन्ने लगेर पटकथा तयार गर्दै फिल्म निर्देशक बनेको हुँ । ”

विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको अभिनेतासमेत रहनुभएका निर्देशक खनालले बताउनुभयो । नारायण जिसी र उत्सव दाहालले छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गर्नुभएको हो । फिल्म अगामी फागुन १२ गतेबाट प्रदर्शनमा आउनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com