नेपालीका सन्दर्भमा अमेरिकाले ग्रिनकार्डका लागि स्वीकार गर्ने जन्मदर्ताका कागजात
प्रकाशित मिति : चैत्र २६, २०८० सोमबार
नेपालमा जन्मनेबित्तिकै जन्मदर्ता गराउने प्रचलन ब्यापक नरहेको सन्दर्भमा अमेरिकामा ग्रिनकार्ड लगायतका कतिपय अध्यागमन आवेदनहरुमा जन्मदर्ताको प्रमाणपत्र मागिने भएकाले नेपालीहरु अलमलमा पर्ने गरेका छन् । अमेरिकाको आप्रवासी भिसा आवेदन दिने बेलामा पनि जन्मदर्ता प्रमाणपत्र मागिन सक्छ ।
तर अमेरिकी सरकारको विदेश मन्त्रालयले ब्यूरो अफ कन्सुलर अफेयर्सले नेपालीका सन्दर्भमा कस्ता जन्मदर्ताका प्रमाण स्वीकार गर्ने भन्ने सन्दर्भमा विशेष मापदण्ड बनाएको छ । सोही मापदण्ड अनुशारका कागजातहरु अमेरिकाको युएससीआईएसले पनि स्वीकार गर्छ ।
अमेरिकी सरकारले नेपालीहरुका जन्मदर्ताका रुपमा तीनप्रकारका कागजातहरु स्वीकार गर्छ । पहिलो जन्मदर्ता प्रमाणपत्र, दोश्रो सिफारिस र तेश्रो जन्म प्रमाणिकरण प्रमाणपत्र ।
सन् १९७३ भन्दा अगाडि जन्मिएकाहरुका सन्दर्भमा जन्मदर्ताको सिफारिसपत्र पनि अमेरिकी सरकारले स्वीकार गर्छ । सन् १९७३ भन्दा अगाडि जन्मिएकाहरुले वडा, गाउँपालिका वा नगरपालिकाबाट आफ्नो नागरिकताको प्रमाणपत्र देखाएर त्यस्तो सिफारिसपत्र प्राप्त गर्न सक्छन् ।
त्यस्तै सन् १९७३ पछि जन्मिएकाहरुको सन्दर्भमा वडा कार्यालय, गाउँपालिका वा नगरपालिकाबाट जन्मदर्ताको प्रमाणपत्र निकाल्न सकिने भन्दै अमेरिकी सरकारले जन्मदर्ताको प्रमाणपत्र माग्छ । अमेरिकी सरकारले नेपालीहरुका सन्दर्भमा टाइप गरिएका, हातले लेखिएका वा कतै हातले लेखिएका र कतै टाइप गरिएका प्रमाणपत्र पनि स्वीकार गर्छ ।
तर त्यस्ता प्रमाणपत्रमा जारी गर्ने कार्यालयको छाप हुनुपर्ने मापदण्ड रहेको छ । छाप कालो वा रंगीन जस्तोपनि हुनसक्छ । ७७ वटा जिल्लाका ४ प्रकारका कार्यालयहरुले जन्मदर्ता प्रमाणपत्र जारी गर्न सक्ने भएकाले फरकफरक शैलीका त्यस्ता कागजात अमेरिकाले स्वीकार गर्ने मापदण्ड बनाएको छ । कसैका प्रमाणपत्र अँग्रेजीमा, कसैका नेपालीमा र कसैका दुबै भाषामा हुने भएकाले अमेरिका ती सबै प्रकारका स्वीकार गर्छ । तर नेपालीमा भएका प्रमाणपत्र अनुवाद गरेर नोटरी गर्न आवश्यक हुन्छ ।
नेपालको कानूनले जन्मदर्ता अनिवार्य गरेपनि कैयन बुबाआमाहरुले आफ्ना छोराछोरीहरुको जन्मने बित्तिकै जन्मदर्ता गराएका हुँदैनन् । त्यसैले नेपालीका सन्दर्भमा जन्मेको लामो समयपछिको मितिमा जारी गरिएका जन्मदर्ता प्रमाणपत्र पनि स्वीकार्ने अमेरिकाको मापदण्ड रहेको छ ।
नेपालका अस्पतालले जारी गरेका जन्मका रेकर्डलाई अमेरिकाले आधिकारिक मान्दैन । तर अस्पतालको रेकर्ड देखाएर सरकारी कार्यालयबाट जन्मदर्ता प्रमाणपत्र निकाल्न सकिने र त्यस्ता प्रमाणलाईमात्र मान्यता दिने अमेरिकाको मापदण्ड रहेको छ ।
जन्मदर्ताका प्रमाणित कपीहरु उपलब्ध नहुने भएकाले अमेरिकी सरकारले नागरिकताको प्रमाणपत्रलाई समेत जन्मदर्ताको वैकल्पिक कागजातका रुपमा स्वीकार गर्छ ।