१.९ बिलियनको पावरबल ज्याकपट आज खोलिदै, आईआरएसलाई साढे ३ सय मिलियन आम्दानी
प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार
अमेरिकामा आजराती १ दशमलव ९ बिलियन डलरको पावरबल ज्याकपट खोलिदै छ । यो विश्वकै अहिलेसम्मको ठूलो राशीको लोटरी हो । अर्थात् यति धेरै राशीको लोटरी पुगेको अहिलेसम्मकै इतिहासमा विश्वमा पहिलो हो ।
गिनिज बुकमा विश्वकै सबैभन्दा ठूलो राष्ट्रिय ज्याकपटमा जनवरी २०१६ को पावरबल रहेकोमा उक्त रेकर्ड पनि तोडिएको हो । त्यतीबेला १ दशमलव ५८६ बिलियन डलरको ज्याकपट खोलिएको थियो । जो अमेरिकाभर तीनजनाले जीतेका थिए ।
पेन्सिलभेनियामा अन्तिम पटक अगस्ट ३ मा ज्याकपट जितेदेखि खोलिएको यो ४२ औं पावरबल हो ।
पावरबल लोटरी विजेताहरूले एकमुष्ठ पुरस्कार प्राप्त गर्ने वा २९ बर्षमा ३० पटकगरी पुरस्कार प्राप्त गर्ने योजनाबीच छनौट गर्न सक्छन् । एकमुष्ठ भुक्तानी चर्चा गरिएभन्दा कम हुन्छ तर अधिकांशले एकमुष्ठ भुक्तानीकै विकल्प रोज्छन् ।
जितेको रकममा २४ प्रतिशत अनिवार्य संघीय ट्याक्स विथहोल्ड हुन्छ भने एकल करदाताले शीर्ष संघीय सीमान्त दर ३७ प्रतिशत पनि तिर्नुपर्छ । त्यसपछि राज्य र सिटीका करहरु पनि तिर्नुपर्छ । उक्त करको दर विजेता कहाँ बस्छन् र उनीहरूले जित्ने टिकट कहाँ किनेका थिए भन्ने आधारमा निर्धारण हुन्छ । न्युयोर्कमा ८ दशमलव ८२ प्रतिशत राज्यलाई र ३ दशमलव ८७६ प्रतिशत सिटीलाई बुझाउनुपर्छ ।
पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।
यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।