डिभी लोटरी भर्ने अवधि समाप्त, मे ६ मा नतिजा, अक्टोबरबाट भिसा


प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार

लोटरी लोटरी २०२४ भर्ने अवधि समाप्त भएको छ । न्युयोर्क समय अनुशार नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ ।

नेपाली समय अनुशार बेलुका पौने ११ बजे डिभी लोटरी भर्ने अवधि समाप्त भएको हो ।

डिभी २०२४ का विजेताहरुले २०२३ को अक्टोबर १ बाट भिसा पाउन सुरू गर्नेछन् । सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् ।

नतिजा सन् २०२३ को मे ६ मा आउनेछ । आधिकारिक वेवसाइटबाट डिभी परे नपरेको चेक गर्न सकिनेछ ।

डिभी कार्यक्रम अन्तरगत बार्षिक ५५ हजारसम्म भिसा जारी गर्न सकिने कोटा तय भएको छ । जस अनुशार एउटा देशले कुल संख्याको ७ प्रतिशतसम्म अर्थात् ३८ सय सम्म डाइभर्सिटी भिसा प्राप्त गर्न सक्छन् ।

यो संख्या प्राथमिक डिभी विजेता र उनीहरुको परिवार समेत जोड्दा हो ।

डिभी भर्दा गरेका कस्ता गल्ती डिभी परेपछि सच्याउन मिल्छ? कस्ता मिल्दैन ?

डिभी भर्दा गरेका केही सामान्य गल्ती डिभी परेपछि सच्याउन मिल्छ । कुनै आशयविनाका प्रशासनिक गल्तीहरु डिभी परेपछि डीएस २६० भर्ने क्रममा सच्याउन मिल्छ ।

उदाहरणका लागि नामको स्पेलिंगमा भएको सामान्य गल्ती, स्थान वा ठेगानाको स्पेलिंगमा भएका सामान्य गल्ती, ठेगाना लेख्दा संरचनामा भएको गल्ती, नेपाली पात्रोबाट अँग्रेजी पात्रोमा जन्ममिति रुपान्तरण गर्दा उल्लेख भएको गलत जन्ममिति जस्ता विवरणहरु डीएस २६० भर्दा सच्याउन मिल्छ ।

त्यस्तै सिटीको नाम उल्लेख गर्दा जिल्लाको नाम उल्लेख गरेको खण्डमा वा जीपकोडमा त्रुटी भएमा त्यस्ता प्रकारका त्रुटीहरु पनि पछि सच्याउन मिल्छ ।

यदि डिभी भर्दा पेश गरेको विवरण आवेदकको ज्ञान अनुशार सही थियो र नियतवश ढाँटेको होइन भने त्यस्तो प्रशासनिक गल्तीहरु सच्याउन मिल्छ । सही नियतका साथ भएको प्रशासनिक त्रुटीका कारण डिभीको योग्यतामा असर पर्दैन ।

तर परिवारका सदस्यहरु उल्लेख गर्नमा छुटेको गल्ती जस्ता सामाग्रीगत त्रुटीहरु भने सच्याउन मिल्दैन । त्यसैले डिभी भर्दा विवाहितले दम्पत्तिको विवरण समेत भर्नुपर्छ भने सन्तान हुनेहरुले २१ बर्षभन्दा कम उमेरका सबै सन्तानको विवरण उल्लेख गर्नुपर्छ । आफूसँगै अमेरिका नआउने भएतापनि उनीहरुको विवरण डिभी भर्दा उल्लेख गर्नुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com