युनिभर्सिटी अफ भर्जिनियामा गोली चल्दा ३ जनाको मृत्यु, संदीग्ध २२ बर्षीय विद्यार्थी फरार
प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार
युनिभर्सिटी अफ भर्जिनियाको क्याम्पसमा आइतवार राती गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीले आक्रमणकारी सशस्त्र र खतरनाक रहेको उल्लेख गर्दै शार्लोटसभिल र वरपर खोजी सुरु गरेको जनाएको छ ।
सोमबार बिहान ५ बजेर ५० मिनेटमा प्रहरीले युनभर्सिटीको मैदान र वरपर पूर्ण खोजी गरिरहेको बताएको छ। क्याम्पस राति साढे ११ बजेदेखि नै आवातजावतमा रोक लगाइएको छ ।
युनिभर्सिटीले क्रिस्टोफर डार्नेल जोन्स जुनियर नामका एक विद्यार्थीलाई संदिग्धको रूपमा पहिचान गरेको छ। तत्काल पीडितहरूको पहिचान गर्न सकेको छैन।
गोली काण्डमा तीन जनाको मृत्यु भएको रिपोर्ट गर्दा आफू दुखी रहेको र दुई थप पीडित घाइते भएको तथा उनीहरुको उपचार भइरहेको जानकारी युनिभर्सिटीका प्रेसिडेण्ट जेम्स ई रायनले बिहान दिएका थिए । पीडितका परिवारहरूसँग नजिकबाट काम गरिरहेको र सकेसम्म चाँडो थप विवरण सार्वजनिक गर्ने उनले बताए ।
सोमबारका लागि कक्षाहरू रद्द गरिएको छ। साथै उक्त क्षेत्रका अन्य विद्यालयहरु पनि बन्द गरिएको छ । भर्जिनिया राज्य पुलिसले युनिभर्सिटीको पुलिस विभाग र स्थानीय अधिकारीहरूसँग पूर्ण रूपमा समन्वय गरिरहेको छ।
कलब्रेथ रोडको पार्किङ ग्यारेजमा राति १०ः३० बजे गोली चलेको भर्जिनिया विश्वविद्यालयको आपतकालीन व्यवस्थापन कार्यालयले जनाएको छ ।
युनिभर्सिटी पुलिसले एक ट्वीटमा संदीग्ध जोन्सलाई घटनाको सम्बन्धमाू खोजिरहेको बताएको छ । २२ बर्षीय जोन्स पूर्व फुटबल खेलाडी हुनसक्ने जनाइएको छ । आक्रमणकारीको खोजीका लागि हेलिकोप्टर पनि परिचालन गरिएको छ ।
संदिग्धले बरगन्डी ज्याकेट वा हुडी, निलो जिन्स र रातो जुत्ता लगाएको तथा भर्जिनिया प्लेट भएको कालो एसयूभी चलाएको जनाइएको छ । युनिभर्सिटीको खेलकुद वेवसाइट अनुशार जोन्स सन् २०१८ मा फुटबल टोलीमा नयाँ खेलाडी रहेपनि कुनै पनि खेलहरूमा देखा नपरेको जनाइएको छ ।
त्योभन्दा अगाडि भर्जिनियाको पीटर्सबर्ग हाई स्कूलमा र वरिना हाई स्कूलमा अध्ययानका क्रममा खेलाडी समेत रहेको जनाइएको छ ।