अमेरिकाबाट एयर इन्डियालाई १४ लाख डलर जरिवाना, १२० मिलियन डलर यात्रुलाई फिर्ता गर्न निर्देशन


प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार

white and red airplane under white clouds

अमेरिकाले कोभिड १९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलर जरिवाना गरेको छ।

अमेरिकी यातायात विभागले टाटाको स्वामित्वमा रहेको एयर इन्डियासहित छवटा एयरलाइनहरूलाई कुल ७२ लाख डलर जरिवाना गरेको जनाएको छ । जसमध्ये एयर इन्डियाले १४ लाख तिर्नुपर्नेछ । त्यस्तै ६ वटा एयरलाइन्सलाई यात्रुहरुलाई कुल ६ सय मिलियन डलर फिर्ता गर्न निर्देशन दिइएको छ। जसमध्ये एयर इन्डियालाई १२० मिलियन डलर भन्दा बढी यात्रुहरुलाई फिर्ता गर्न भनिएको छ ।

अधिकारीहरूका अनुशार यात्रुहरूको अनुरोधमा रिफण्ड गर्ने एयर इन्डियाको प्रावधान अमेरिकी यातायात विभागको नीतिभन्दा फरक छ।

अमेरिकी सरकारको नियम अनुसार एयरलाइन्सहरूले उडान रद्द वा परिवर्तनको मामलामा यात्रुहरूको टिकटको पैसा कानुनी रूपमा फिर्ता गर्न आवश्यक छ।

white and red passenger plane on airport during daytime

विभागीय छानबिनमा एयर इन्डियाले आधाभन्दा बढी रकम फिर्ताका आवेदनहरू प्रशोधन गर्न १०० दिनभन्दा बढी समय लिएको पाइएको थियो । रिफण्डको यो मामला टाटा समूहले एयर इन्डियाको अधिग्रहण गर्नुभन्दा अगाडिको हो ।

जरिवाना र रिफण्डको कारवाही भोग्नेमा अमेरिकाको सस्तो टिकटको एयरलाइन्स फ्रन्टियर एयरलाइन्समात्र रहेको छ । अरु सबै विदेशी एयरलाइन्सह हुन् । जसमा एयर इन्डिया, ट्याप पोर्चुगल, एरोमेक्सिको, एल अल र एभियान्का रहेका छन् ।

जब अमेरिकीहरूले एयरलाइनमा टिकट किन्छन्, उनीहरु गन्तव्यमा सुरक्षित रूपमा र किफायती रूपमा पुग्ने आशा गर्नुपर्ने अमेरिकी यातायात विभागले जनाएको छ । आफूहरुको काम यी अपेक्षाहरूका लागि एयरलाइन्सहरूलाई जवाफदेही राख्नु रहेको र जसमध्ये धेरै कानून र नियमनका कुरा रहेको यातायात विभागको भनाई छ ।

गत महिना यातायात विभागले अगस्टमा एयरलाइन्स बारे ७ हजार २ सय ४३ उपभोक्ताका गुनासोहरू प्राप्त गरेको थियो । जसमा प्रत्येक पाँचमा एक रिफण्डबारे थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com