जी २० बैठक बीचमा युक्रेनको राजधानी किभमा रुसको आक्रमण, बैठक छाडेर फर्के रुसी विदेशमन्त्री
प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार
जी २० बैठकको बीचमा नै रुसले युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ । शहरबाट विस्फोटको आवाज सुनिएको छ र शहरबाट धुवाँ निस्किएको देख्न सकिन्छ।
प्रारम्भिक रिपोर्टहरू अनुसार पीचर्स्क क्षेत्रमा दुई भवनहरूमा क्षति पुगेको छ।
विश्व नेताहरू हाल इन्डोनेसियाको बालीमा जी २० शिखर सम्मेलनका लागि भेला भएका छन्, जहाँ उनीहरूले युक्रेनमा भएको आक्रमणको निन्दा गरेका छन्।
एक साताभन्दा बढी अवधिमा यस्तो आक्रमण भएको यो पहिलो हो। यसै क्रममा रुसी सैनिकहरू खेरसनबाट फर्किरहेका थिए ।
यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभ इन्डोनेसियाको बालीबाट रुस फर्किएका छन् । रुसी समाचार एजेन्सी टासले यो जानकारी दिएको हो ।
जी २० शिखर सम्मेलन भोलि औपचारिक रूपमा समाप्त हुनेछ।
यसअघि लाभरोभले पश्चिमी देशहरूको आलोचना गर्दै उनीहरूले जी २० घोषणापत्रमा राजनीतिकरण गरेको आरोप लगाएका थिए ।
समाचार एजेन्सीहरूले देखेको मस्यौदा अनुसार घोषणापत्रमा अधिकांश सदस्यहरूले युक्रेनको युद्धको कडा निन्दा गरेको उल्लेख छ । साथै यसले विश्वव्यापी अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्याएको कुरामा जोड दिइएको छ ।
लाभरोभले युद्धको लागि रसियालाई सिधै दोष लगाउने प्रयासहरू अस्वीकार गरिएको बताएका छन् । अहिलेसम्म यो शिखर सम्मेलनमा युक्रेनमा रुसको आक्रमण रोक्न माग गरिएको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनमा रुसको बर्बर युद्धविरुद्ध बोल्दै पुटिन शासनलाई युक्रेन छोड्न आग्रह गर्दा लाभरोभ पनि उपस्थित थिए ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले पदभार ग्रहण गरेको तीन साता मात्रै भएको छ र उनले पहिलो पटक आफ्ना समकक्षीसँग विश्वव्यापी मञ्चमा भेट गरेका छन् ।
इन्डोनेसियाको बालीमा जारी जी–२० शिखर सम्मेलनको पहिलो दिन बोल्दै उनले पुटिन सरकारको आलोचना गरेका हुन् ।
उनले भने – ‘पुटिन प्रशासनले घरेलु असन्तुष्टिलाई दबाएको छ र हिंसाको माध्यमबाट मात्र युक्रेन युद्धको वैधतालाई ढाकिएको छ। पुटिन विश्वव्यापी विरोधको आवाजलाई कोरस जस्तै सुन्दै हुनुहुन्छ।’
सुनकले सम्मेलनमा उपस्थित रुसका प्रतिनिधि विदेशमन्त्री सर्गेई लाभरोभलाई प्रत्यक्ष सम्बोधन गरेका थिए । युक्रेनमा रुसको आक्रमणपछि पहिलो पटक बेलायती प्रधानमन्त्रीले रुसी वरिष्ठ मन्त्रीसँग आमनेसामने कुरा गरेका थिए ।
जी २० कै बीचमा भएको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्याएका थिए ।
जी २० शिखर सम्मेलनको छेउमा भेटेका दुई राष्ट्र प्रमुखले विकासशील देशहरूलाई आर्थिक सहायता उपलब्ध गराउने विषयमा पनि कुराकानी गरेका थिए।
जिनपिङले दुई देशबीचको सम्बन्धमा ‘सकारात्मक विकास’ र ‘प्रगति’बारे कुराकानी भएको बताएका छन् ।
त्यस्तै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जी २० शिखर सम्मेलनमा विश्व नेताहरूलाई रुसको युद्ध अब अन्त्य गर्नुपर्ने बताएका छन्।
उनले छिट्टै म्याद सकिँदै गएको महत्वपूर्ण खाद्यान्न निर्यात सम्झौतालाई अगाडि बढाउन पनि आग्रह गरे ।
जेलेन्स्कीले भिडियो मार्फत बालीमा नेताहरूलाई सम्बोधन गरेका हुन्।
रुसी नेता भ्लादिमिर पुटिन जी २० मा भाग लिइरहेका छैनन्। आफ्नो साटो उनले विदेशमन्त्री सर्गेई लाभरोभलाई सम्मेलनमा भाग लिन पठाएका छन् ।
जेलेन्स्कीले भने – ‘मलाई विश्वास छ कि रुसको विनाशकारी युद्ध रोक्नु पर्ने समय आएको छ।’
जेलेन्स्कीले आणविक र खाद्य सुरक्षा सुनिश्चित गर्ने, शत्रुताको अन्त्य सहित धेरै रणनीतिहरू रेखांकित गरेका छन् ।
महत्त्वपूर्ण कुरा जेलेन्स्कीले बारम्बार जी २० का नेताहरूलाई जी १९ भनेर सम्बोधन गरेका थिए । यसको अर्थ जेलेन्स्कीले रुसलाई जी २० को सुचीबाट हटाएका थिए ।