ट्रम्पबाट २०२४ को अमेरिकी राष्ट्रपतिको दौड सुरु, औपचारिक उम्मेदबारी घोषणा
प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार
सन् २०२० को चुनावमा पराजय भोगेका डोनाल्ड ट्रम्पले मंगलबार २०२४ मा राष्ट्रपति पदमा उम्मेदबारीको घोषणा गरेका छन् । ट्रम्पले मध्यावधि चुनावको एक हप्ता पछि फ्लोरिडाको मारएलागो रिसोर्टमा उम्मेदबारीको घोषणा गरेका हुन् ।
अमेरिकी टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको एक घण्टाभन्दा लामो भाषणमा ट्रम्पले सयौं समर्थकहरूमाझ सजाइएको र दर्जनौं अमेरिकी झण्डाहरू लगाइएको बलरूममा बोलेका थिए। अमेरिकालाई फेरि महान बनाउनको लागि अमेरिकाको राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरेको ट्रम्पले बताए ।
अघिल्लो दिन सहयोगीहरूले अमेरिकी संघीय निर्वाचन आयोगसँग डोनाल्ड ट्र्रम्प फर प्रेसिडेण्ट २०२४ नामको समिति गठन गरेर कागजी कार्य दायर गरेका थिए ।
‘अमेरिकालाई फेरि महान र गौरवशाली बनाउनको लागि, म आज राती संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्दैछु’ – ट्रम्पले भने।
अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकन पार्टीहरूले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन्। ट्रम्पको घोषणाको अर्थ के हो भने उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावी मैदानमा उत्रनेछन् ।
ट्रम्पले आफ्नो भाषणको अन्त्य गर्दै भने -‘यो अभियान मात्र होइन, यो हाम्रो देश बचाउने प्रयास हो।’