न्युयोर्क र क्यालिफोर्नियामा जितेपछि प्रतिनिधिसभामा नियन्त्रण कायम गर्न रिपब्लिकन १ सिट नजिक
प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार
न्युयोर्क र क्यालिफोर्नियामा सिटहरु जितेपछि रिपब्लिकनलाई प्रतिनिधिसभामा नियन्त्रण कायम गर्न अब १ सिटमात्र आवश्यक रहेको छ । १० वटा सिटकोमात्र नजिता आउन बाँकी रहेको अहिलेको अवस्थामा रिपब्लिकनले २१७ सिटमा जीत हासिल गरिसकेका छन् भने डेमोक्र्याट्सले २ सय ८ सिटमा जीत हासिल गरेका छन् ।
डेमोक्र्याटहरूले प्रतिनिधिसभामा नियन्त्रण कायम गर्नका लागि बाँकी सबै १० सिटहरु जित्न आवश्यक छ, जुन असम्भव हो । उच्च मुद्रास्फीति र बाइडेन प्रशासनप्रति असन्तुष्टिका कारण संसदको तल्लो सदनमा रिपब्लिकन पार्टीले भारी जितको अपेक्षा गरेको थियो। तर २०१९ देखि सदनलाई नियन्त्रण गर्ने डेमोक्र्याटका लागि अप्रत्याशित रूपमा बलियो समर्थन भएकाले झिनो रुपमा मात्र रिपब्लिकनले बहुमत कायम गर्ने भएका छन् ।
रिपब्लिकनहरूले प्रतिनिधिसमाभा नियन्त्रण कायम गर्दा पनि उनीहरूसँग २१ औं शताब्दीको सबैभन्दा कम मार्जिन हुने भएको छ । सन् २००१ मा प्रतिनिधिसभामा नियन्त्रण कायम हुँदा नौ सिटको मात्र बहुमत थियो। तर यसपटक त्यो पनि नहुने देखिएको छ ।
सोमबार साँझ मिशेल स्टील र केन क्याल्भर्ट दुबै क्यालिफोर्नियामा डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै पुन निर्वाचित भए। क्यालिफोर्नियामा कंग्रेसनल नक्साहरूमा आएको परिवर्तनका कारण यस वर्ष दुवै दौडहरू थप प्रतिस्पर्धात्मक भएका थिए ।
न्युयोर्कको सिराकस क्षेत्रमा रिपब्लिकनहरूले पछिल्लो दुई राष्ट्रपति चुनावमा डेमोक्र्याटलाई मतदान गरेका क्षेत्रमा पनि नियन्त्रण कायम गरे । न्युयोर्कमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका एक समर्थक रूढिवादी रिपब्लिकन ब्र्यान्डन विलियम्सले एक खुला रिपब्लिकन सीटको रक्षा गरेका हुन् । उनले एक मध्यपन्थी डेमोक्र्याट फ्रान्सिस कोनोललाई पराजित गरेका हुन् ।
प्रतिनिधिसभामा रिपब्लिकनको नियन्त्रण कायम भएपनि सिनेटमा भने डेमोक्र्याट्सले झिनो बहुमत कायम गरेका छन् । जर्जियाको चुनावी परिणाम आउन बाँकी रहदा सिनेटमा डेमोक्र्याट्सको ५० र रिपब्लिकनको ४९ सिट कायम भएको छ । जर्जिया जसले जितेपनि सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ । जर्जिया जितेमा सिधै र हारेमा उपराष्ट्रपतिको टाइब्रेक मतको आधारमा सिनेटमा डेमोक्र्याट्सको नियन्त्रण हुनेछ ।