आगामी राष्ट्रपति चुनावमा ट्रम्पका अगाडि ६ चुनौती


प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार

निर्वाचनमा पराजय बेहोरेका कारण ह्वाइट हाउस छाडेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को चुनावमा उम्मेदबारीको घोषणा गरेका छन् । तर उनका सामु रहेका ६ वटा चुनौतीहरु पार गर्न सहज भने छैन ।

आठ वर्षअघि ट्रम्प राजनीतिक रूपमा कतै झुकाव नराख्ने व्यक्ति थिए। पदीय जिम्मेवारी सम्हालेको कुनै अनुभव नरहेका उनीमाथि मतदाताहरूले आकाङ्क्षा र अपेक्षा राखेका थिए ।

उनले व्यापक प्रतिबद्धताहरू जनाएका थिए । तर अहिले अवस्था त्यस्तो छैन। चार वर्षे कार्यकालमा उल्लेख्य उपलब्धिका बाबजुत उनका कतिपय नीतिहरू विफल पनि भए।

स्वास्थ्य सेवा सुधार सम्बन्धी डेमोक्र्याटहरूको कार्यक्रम उल्टाउन असफल उनले पूर्वाधारमा लगानीबारेका उनका वाचा कहिल्यै पुरा भएनन्। कोरोनाभाइरस महामारीको व्यवस्थापन सम्बन्धी उनको नीतिहरूको पनि कडा आलोचना भयो ।

त्यस्तै ६ जनवरी २०२१ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा भूमिकाबारे उनको चर्को आलोचना भइरहेको छ । ट्रम्प समर्थनको सङ्केत सहितका झन्डा बोक्दै संसद्‌मा तोडफोड मच्चाएको र शान्तिपूर्ण रूपमा सत्ताको हस्तान्तरणलाई अस्थायी रूपमा रोक्न खोजेको कुराले उनलाई नकारात्मक चुनौती थपेको छ ।

त्यस दिनको घटनाले हालैको चुनावलाई पनि प्रभावित पारेको छ र ट्रम्पको भनाई र गराइले अझै पनि मतदाताको व्यवहारलाई प्रभावित तुल्याउनसक्छ। सन् २०२० को चुनावको परिणाम अस्वीकार गर्ने ट्रम्पको निर्णयको पक्षमा दह्रो गरी उभिएका कैयौँ रिपब्लिकन नेताहरू पराजित भएका छन्।

त्यस्तै ट्रम्प राष्ट्रपतीय चुनाव अभियानमा आउन व्यग्र हुनुको एउटा कारण उनले आफूमाथिका फौजदारी तथा अन्य न्यायिक अनुसन्धानको सामना गर्नु परिरहेको छ।

उनी त्यसलाई बृहत् राजनीतिक प्रतिसोधको हिस्साका रूपमा देखाउन चाहन्छन्। जनसम्पर्कका लागि त्यसले केही काम गर्नसक्ने भएपनि यसमा ट्रम्प कानुनी रूपमा तानिने निश्चित छ।

उनले आफ्नो व्यापारसँग सम्बन्धित एउटा ठगीको घटना न्यू योर्कमा, यौन दुर्व्यवहार सम्बन्धी आरोपमा मानहानी र संसद् भवनमा भएको हमला र राष्ट्रपति पदबाट बाहिरिएपछि अति गोप्य कागजपत्रको व्यवस्थापनलाई लिएर सङ्घीय जाँचको सामना गरिरहेका छन्।

सबैभन्दा खराब अवस्थामा उनले ठूलो आर्थिक जरिवाना तिर्नुपर्ने हुनसक्छ वा उनी जेल समेत जान सक्छन्।

त्यस्तै आठ वर्षअघि राष्ट्रपति पदका लागि रिपब्लिकन दलभित्र उम्मेदवारको खोजी हुँदा ट्रम्पले फ्लोरिडाका गभर्नरसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। यदि ट्रम्प सन् २०२४ मा पुन मनोनीत हुन चाहन्छन् भने उनले फ्लोरिडाका गर्भनरलाई फेरि पाखा लगाउनुपर्नेछ। माइक पेन्सले पनि चुनावमा उठ्ने संकेत दिएका छन् ।

ट्रम्पको घोषणा अघि एउटा कन्जरभेटिभ समूहले सार्वजनिक गरेको सर्वेक्षणमा आयोवा र न्यूह्याम्पसियरका ट्रम्पको लोकप्रियता निकै कम देखिएको थियो । यी राज्यहरूले रिपब्लिकन दलभित्रको मनोनयन प्रक्रियाको प्रारम्भमा नै मतदान गर्छन्। यसअघिको सर्वेक्षणभन्दा अहिले ट्रम्पको सङ्ख्या यी राज्यहरूमा अझै कमजोर छ।

यदी ट्र्म्प यसपटक राष्ट्रपति चुनिए भने सपथग्रहण गर्दा उनी ७८ वर्षका हुनेछन्। त्यही उमेरमा जो बाइडन ह्वाइट हाउसमा प्रवेश गरेका थिए।

अमेरिकी इतिहासमै ट्रम्प दोस्रो वृद्ध राष्ट्रपति बन्नेछन्। सम्भवत आफू भन्दा कम उमेरका प्रतिस्पर्धीसँगको भिडेर चुनावी अभियान पार लगाउन उनका लागि कठिन हुनसक्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com